मनसुन पश्चिमतर्फ बढी सक्रिय : पहिरो र बाढीको जोखिम
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वी भूभागमा तराईभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले आज देशका पूर्वी भागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान छ।
महाशाखाले वर्षाका कारण देशका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम उच्च रहेको चेतावनी दिँदै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायात क्षेत्र प्रभावित हुन सक्ने र अन्य भौतिक पूर्वाधारमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न सबैमा अनुरोध गरेको छ।








