मनसुन कमजोर हुँदै : पहाडी क्षेत्रमा वर्षाको सम्भावना
दाङ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था हुनेछ । सुदूरपश्चिम प्रदेशका साथै पहाडी क्षेत्रका केही स्थान र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
यस्तै, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना रहेको छ।
महाशाखाले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहन सक्ने चेतावनी दिएको छ। साथै, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात अवरुद्ध हुनसक्ने भएकाले सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।








