दाङको पाण्डवेश्वर महादेव धाममा आज एक करोड दीप प्रज्वलन
प्रकाशित मिति : 15 August, 2025 9:27 am
दाङ । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वरमहादेव धाम, धारापानीमा आज एक करोड दीप प्रज्वलन कार्यक्रम हुँदैछ। साउन १ गतेदेखि सुरु भएको शिवपुराण तथा शृङ्गारिक महाआरतीको औपचारिक समापनको अघिल्लो दिन यो विशेष कार्यक्रम आयोजना गरिएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीका अनुसार अपराह्न ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका आरम्भ गरिनेछ। त्यसपछि बेलुकी साढे ६ बजे विश्वकै अग्लो त्रिशूल परिसरमा दीप प्रज्वलन गरिनेछ ।
भक्तजन र मन्दिरको तर्फबाट संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रममा दाङसहित विभिन्न जिल्लाबाट भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । व्यवस्थापन समितिले यस कार्यक्रमलाई ऐतिहासिक बनाउन व्यापक तयारी पूरा गरेको जनाएको छ ।








