१९ मंसिर २०८२, शुक्रबार

दाङमा सुरु हुँदै कोभिड–१९ खोप अभियान : ९५ केन्द्रबाट १२ हजार बढीलाई खोप दिइदै

प्रकाशित मिति :  15 August, 2025 2:12 pm


दाङ । महामारीको प्रभाव क्रमशः कम हुँदै गए पनि दाङ फेरि एकपटक कोभिड–१९ विरुद्धको खोप अभियानको तयारीमा जुटेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले आगामी भदौ २ गतेदेखि १२ वर्ष वा सोभन्दा माथिका सबै व्यक्तिलाई लक्षित गर्दै नयाँ चरणको खोप अभियान सुरु गर्न लागेको भन्दै १२ हजारभन्दा बढी जनसंख्यामा खोप पु¥याउने लक्ष लिइएको छ ।

स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन भानु ज्योति ओलीले अघिल्ला चरणमा जिल्लाभर पहिलो मात्रा ८६ प्रतिशत, दोस्रो मात्रा ८४ प्रतिशत, पहिलो अतिरिक्त मात्रा २८ प्रतिशत र दोस्रो अतिरिक्त मात्रा ४ प्रतिशत नागरिकले खोप लिएका जानकारी दिए । उनका अनुसार खोप लिनेको तथ्याङ्क पालिकागत रुपमा भिन्नता देखाउँछ ।

बंगलाचुली गाउँपालिकामा पहिलो मात्रा ९३ प्रतिशत र दोस्रो मात्रा ८० प्रतिशत पुगेको छ भने पहिलो अतिरिक्त मात्रा २८ प्रतिशत र दोस्रो अतिरिक्त मात्रा ३ प्रतिशत छ ।

घोराही उपमहानगरपालिकामा पहिलो र दोस्रो दुवै मात्रा ८६ प्रतिशत, पहिलो अतिरिक्त मात्रा २४ प्रतिशत र दोस्रो अतिरिक्त मात्रा ३ प्रतिशत छ । तुलसीपुर उपमहानगरपालिकामा पहिलो मात्रा ९१ प्रतिशत, दोस्रो मात्रा ८९ प्रतिशत, पहिलो अतिरिक्त मात्रा ३४ प्रतिशत र दोस्रो अतिरिक्त मात्रा ७ प्रतिशत छ ।

शान्तिनगर गाउँपालिकामा खोप कवरेज अझै उच्च देखिन्छ-पहिलो मात्रा ९२ प्रतिशत, दोस्रो मात्रा ९४ प्रतिशत, पहिलो अतिरिक्त मात्रा ४० प्रतिशत र दोस्रो अतिरिक्त मात्रा ५ प्रतिशत रहेको छ ।

यसका विपरीत, बबई गाउँपालिकामा पहिलो मात्रा ८५ प्रतिशत भए पनि दोस्रो मात्रा ७१ प्रतिशतमा झरेको छ । यहाँ पहिलो अतिरिक्त मात्रा ६ प्रतिशत र दोस्रो अतिरिक्त मात्रा शून्य प्रतिशतमा सीमित छ ।

दंगीशरण गाउँपालिकामा पहिलो मात्रा ८४ प्रतिशत, दोस्रो मात्रा ७४ प्रतिशत, पहिलो अतिरिक्त मात्रा ३० प्रतिशत र दोस्रो अतिरिक्त मात्रा २ प्रतिशत छ । लमही नगरपालिकामा पहिलो मात्रा ९१ प्रतिशत, दोस्रो मात्रा ९५ प्रतिशत, पहिलो अतिरिक्त मात्रा ३७ प्रतिशत र दोस्रो अतिरिक्त मात्रा ६ प्रतिशत छ ।

राप्ती गाउँपालिकामा पहिलो मात्रा ६८ प्रतिशत, दोस्रो मात्रा ८० प्रतिशत, पहिलो अतिरिक्त मात्रा ३८ प्रतिशत र दोस्रो अतिरिक्त मात्रा ५ प्रतिशत छ भने गढवा गाउँपालिकामा पहिलो मात्रा ८१ प्रतिशत, दोस्रो मात्रा ६९ प्रतिशत, पहिलो अतिरिक्त मात्रा २८ प्रतिशत र दोस्रो अतिरिक्त मात्रा ५ प्रतिशत छ ।

राजपुर गाउँपालिकामा पहिलो मात्रा ८२ प्रतिशत, दोस्रो मात्रा ६५ प्रतिशत, पहिलो अतिरिक्त मात्रा २७ प्रतिशत र दोस्रो अतिरिक्त मात्रा २ प्रतिशत रहेको छ । यी तथ्यांकहरूले स्पष्ट गर्छन् कि जिल्लामा खोपको पहिलो मात्रा त अधिकांशले लिएका छन् तर दोस्रो र अतिरिक्त मात्रामा सहभागिता कम छ।

माग घट्दै, चुनौती बढ्दै
अघिल्ला चरणको तुलनामा अहिले खोपको मागमा कमी आएको स्वास्थ्य कार्यालयको मूल्याङ्कन छ । धेरैले कोभिड–१९ लाई सामान्य रोगजस्तो लिन थालेका छन्, जसका कारण दोस्रो र अतिरिक्त मात्रा लिने दर कम भएको छ ।

साथै, तथ्याङ्क प्रविष्टिमा समस्या, प्रतिवेदनमा ढिलाइ र अभिलेख अपूर्ण रहनुजस्ता कारणले वास्तविक कवरेजभन्दा पछिल्ला अङ्क कम देखिएका छन् । खोप खेर जाने दर पनि बढेको छ तर जोखिम अझै समाप्त भएको छैन । “कोभिड–१९ संक्रमणको दर घटेको छ भन्ने मात्र होइन, यो भाइरस अझै नयाँ स्वरुपमा देखा पर्न सक्छ”, ओली भन्छन्, “रोगको निश्चित औषधोपचार नभएकोले खोप नै सुरक्षित उपाय हो ।”

नयाँ कार्यनीति र खोप तालिका
नयाँ अभियानमा रोगप्रतिरोध क्षमता कम भएका १२ वर्ष वा सोभन्दा माथिका बालबालिका, वयस्क र जेष्ठ नागरिकलाई २ मात्रा (२८ दिनको अन्तरमा) दिने योजना छ । पहिले खोप लिएका भए कम्तिमा १२ महिनापछि थप १ मात्रा दिइनेछ । स्वास्थ्यकर्मी, गर्भवती महिला र प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिहरू पनि प्राथमिकतामा छन् ।

९५ केन्द्रबाट १२ हजार जनालाई खाेप दिइने
अभियानका लागि जिल्लाभर ९५ खोप केन्द्र सञ्चालन हुनेछन् । जसमा १२ हजार जनालाई खोप दिइने फोकल पर्सन ओलीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकामा २५ केन्द्र रहनेछन्, जसले ५ हजार ४ जनालाई सेवा दिनेछ ।

घोराही उपमहानगरपालिकामा १५ केन्द्रबाट २ हजार ४ जनालाई, लमही नगरपालिकामा ८ केन्द्रबाट ९६० जनालाई, राप्ती र गढवामा नौ–नौ केन्द्रबाट १ हजार २० र १ हजार २० जनालाई, राजपुरमा ४ केन्द्रबाट २०४ जनालाई, बंगलाचुलीमा ८ केन्द्रबाट ३०० जनालाई, बबईमा ४ केन्द्रबाट २९४ जनालाई, शान्तिनगरमा ५ केन्द्रबाट ५०० जनालाई र दंगीशरणमा ७ केन्द्रबाट ६९६ जनालाई लक्षित गरिएको छ ।

जनचेतना अभियानको आवश्यकता
स्वास्थ्य कार्यालयका अनुसार यो अभियान केवल खोप दिने मात्र नभई जनचेतना अभिवृद्धिमा पनि केन्द्रित हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ठगबहादुर गुरुङले जानकारी दिए ।

उनले स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक र सञ्चारकर्मीको सक्रियताले मात्रै लक्ष्य पूरा हुने विश्वास लिइएको बताए । “अभियानमा जनसहभागिता नबढे, हामीले राखेको लक्ष्य केवल कागजमा मात्र सीमित हुन्छ,” गुरुङको चेतावनी छ । खोप अभियान दाङका लागि एउटा स्वास्थ्य सुरक्षाको पुनःस्मरण हुने भन्दै उनले महामारी नसकिएकाले सतर्कता र सुरक्षाका लागि खोप अनिवार्य रहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !