देशमै चिकित्सा शिक्षा सिट थपिए : हरेक वर्ष साढे तीन अर्ब रुपैयाँ विदेशिनबाट जोगिने
काठमाडौँ । नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि थप १ हजार ३५९ सिट अनुमोदन गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय ऐतिहासिक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष स्नातक तहको चिकित्सा शिक्षा अध्ययनका लागि मात्र १,६५५ विद्यार्थीले विदेश जाने अनुमति पत्र लिएका थिए । अरु विषयका लागि अनुमति लिने विद्यार्थीको संख्या भने दशौं हजारमा पुग्छ । यसले देशको ठूलो आर्थिक नोक्सानीसँगै युवाशक्ति र भविष्यको सम्भावना पनि विदेशतिर पलायन भइरहेको दुखद् चित्र प्रस्तुत गरेको उनले उल्लेख गरेका छन् ।
“विद्यार्थीलाई आफ्नै देशमै चिकित्सक बन्ने अवसर दिनु, विदेश जाने लामो ‘एयरपोर्ट लाइन’ घटाउनु र अभिभावकको आँखा रसाउने यात्रा रोक्नु सरकारको कर्तव्य हो,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।
चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार नेपालमै एमबीबीएस, बीडीएस, बी फर्मा, डीएम, एमसीएच लगायत तहमा थपिएका सिटका कारण शुल्कमा मात्रै करिब ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रकम देशभित्रै रहने छ । यससँगै हरेक वर्ष करिब साढे तीन अर्ब रुपैयाँ विदेश जाने अवस्थालाई रोक्न सकिने प्रधानमन्त्री ओलीको दाबी छ।
उनका अनुसार, यस कदमले परिवार छोडेर परदेशिनुपर्ने बाध्यता कम गर्ने मात्र होइन, नेपालमै दक्ष चिकित्सक तयार गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।
“देशलाई माया गर्ने र युवा भविष्यबारे चिन्ता गर्ने कसैलाई पनि यस निर्णयबाट बेफाइदा छैन,” प्रधानमन्त्री ओलीले भनेका छन् तर यस निर्णयलाई समेत गलत अर्थ लगाउने र पेशेवर ‘मास म्यानुपुलेसन’ गर्ने प्रयास भइरहेको उनले औंल्याएका छन् । संसदमा समेत पेशेवर ‘मिडिया म्यानुपुलेटर’का गतिविधि र द्रव्यदातालाई रिझाउनुपर्ने प्रवृत्तिप्रति ध्यानाकर्षण गराएको प्रधानमन्त्री ओलीको भनाइ छ ।








