नेपालमा मनसुन कमजोर : केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा मनसुन हाल सामान्यभन्दा केही कमजोर बनेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले मनसुन सक्रियता घटेको हो । तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले देशका केही भागमा वर्षा हुने क्रम भने जारी रहनेछ ।
महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा, साथै मधेस प्रदेशको तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा भने भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा सामान्य बदली रहँदा बाँकी भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।
यस अवधिमा कोशी प्रदेशको पहाडी तथा तराई भूभागका साथै अन्य प्रदेशका पहाडी र तराई भागका एक-दुई स्थानमा मध्यम वर्षा पर्न सक्नेछ । कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
महाशाखाले वर्षासँगै पहाडी भूभागमा पहिरो तथा तराई क्षेत्रमा जलमग्न हुने जोखिम रहने भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।








