१९ मंसिर २०८२, शुक्रबार

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

प्रकाशित मिति :  19 August, 2025 6:15 pm


काठमाडाैँ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको चुनौती प्रस्तुत गरेको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाउँदा आशिफ शेखले २९ रन जोडे। कुशल भुर्तेलले २७ रन, भीम सार्कीले १८ रन योगदान दिए भने अन्तिम समयमा लोकेश बमले ११ बलमा नटआउट २५ रनको विस्फोटक पारी खेले ।

१८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट हरिकेन्स १६.१ ओभरमै सबै विकेट गुमाउँदै ११४ रनमा समेटियो । विपक्षी टोलीका लागि ब्राडली होपले ३१, चार्ली वाकिमले २८ र ज्याक कर्टेनले २१ रन बनाए तर अन्य खेलाडीहरू टिकेर खेल्न सकेनन् ।

नेपालको बलिङमा नन्दन यादव चम्किनुभयो। उहाँले तीन ओभरमा १७ रन खर्चिएर पाँच विकेट लिँदै जितमा मुख्य भूमिका निभाए । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक–एक विकेट हात पारे ।

यसअघि सिरिजका तीनै खेलमा पराजित भएको नेपालका लागि यो पहिलो जित हो । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले, दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको नेपाल चौथो खेलमा होबार्टविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुई अंक जोड्न सफल भएको हो ।



प्रतिक्रिया दिनुहोस !