१९ मंसिर २०८२, शुक्रबार

नेपालमा डाक्टरको पलायन : स्वास्थ्य प्रणालीलाई कता लैजाला ?

प्रकाशित मिति :  20 August, 2025 6:56 am


काठमाडाैँ । नेपालमा चिकित्सा पेसा एक समय प्रतिष्ठा, सेवा र अवसरको प्रतिक मानिन्थ्यो तर अहिले भने यो क्षेत्र निराशा, असुरक्षा र पलायनको कारण बनेको छ ।

हजारौं रुपैयाँ खर्चेर पढेका चिकित्सक न्यून तलब, कामको असुरक्षा र पेशागत अपमान सहन नसकेर विदेशिने क्रम बढेको छ। सरकारी अस्पतालदेखि निजी अस्पतालसम्म कार्यरत चिकित्सकहरू सुरक्षित भविष्यको खोजीमा युरोप, अमेरिका, अस्ट्रेलिया र बेलायततर्फ लागिरहेका छन् ।

आकर्षण हराउँदै चिकित्सा पेसा

त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सक अमेरिका सपरिवार जानुपर्ने अवस्था आउनु होस् वा नुवाकोटमा कार्यरत मेडिकल अफिसर किशोर शर्मा (नाम परिवर्तन)ले एमडी अध्ययन छाडेर अस्ट्रेलिया रोज्नु होस्-यी उदाहरणहरू नेपाली चिकित्सा क्षेत्रमा गहिरिँदो असन्तोषका प्रतीक हुन् ।

शर्मा भन्छन्, “नेपालमा डाक्टर भएर पैसा कमाउन बुढो हुनुपर्ने रहेछ । साथीहरू विदेश पुगे, घरजग्गा जोडे, म भने ४० हजारको जागिर खान बाध्य छु ।” यसरी चिकित्सकको सपना र श्रम नेपालमा पुरा नहुँदा उनीहरू बाध्यतावश विदेशतर्फ उडिरहेका छन्।

पलायनको तथ्याङ्क

नेपाल मेडिकल काउन्सिलका तथ्याङ्क अझै भयावह छन् । पछिल्ला वर्षहरूमा २,६८१ चिकित्सकले विदेश जाने ‘गुड स्ट्यान्डिङ’ प्रमाणपत्र लिएका छन् । तीमध्ये अमेरिका (५८७), बेलायत (५५०), अस्ट्रेलिया (२५३), माल्दिभ्स (३८४), युएई (२०५) लगायत देशतर्फ चिकित्सक पलायन भइरहेको छ ।

यो लहर यति तीव्र छ कि आगामी पाँचदेखि १० वर्षभित्र नेपालमा चिकित्सक सङ्कट हुने चेतावनी चिकित्सक संगठनहरूले दिइसकेका छन् ।

समस्या कहाँ छ ?

चिकित्सकहरू पलायन हुनुमा केही मुख्य कारण देखिन्छन् :

न्यून तलब र सुविधा : लाखौं खर्चेर पढ्नुपर्ने एमबिबिएस र एमडीपछि पनि चिकित्सकले ३०–४० हजारको जागिर खानुपर्ने अवस्था छ।

पेशागत असुरक्षा : अदालतले चिकित्सकमाथि करोडौं क्षतिपूर्ति तोक्ने निर्णयपछि चिकित्सकले नेपालमा बस्न नसक्ने गुनासो गरेका छन् ।

दरबन्दी अभाव : स्वास्थ्य क्षेत्रमा ३२ वर्षदेखि दरबन्दी नबढ्दा नयाँ चिकित्सकलाई अवसर मिलेको छैन।

विदेशी अवसरको आकर्षण : पश्चिमी मुलुकले सुरक्षित वातावरण, उच्च पारिश्रमिक र अनुसन्धानमैत्री अवसर दिने भएकाले चिकित्सकलाई रोक्न गाह्रो भएको छ।

नीतिगत अनदेखी

नेपाल चिकित्सक सङ्घका अध्यक्ष अनिलविक्रम कार्की भन्छन्, “करोड क्षतिपूर्ति तिरेर चिकित्सक नेपालमा बस्न सक्दैनन्। यो व्यवस्थाले नै पलायनलाई बढाएको छ ।”

महासचिव डा. सञ्जीव तिवारीको चेतावनी अझै कडा छ, “पाँचदेखि १० वर्षभित्र नेपालमा चिकित्सक एकाधबाहेक सबै विदेश पलायन हुने निश्चित छ ।” तर सरकार भने मूकदर्शकझैँ छ। स्वास्थ्य मन्त्रालयको स्वीकारोक्ति नै छ—चिकित्सक पलायन तत्काल रोक्न सम्भव छैन ।

सरकारको योजना

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भने, “तत्काल रोक्न सकिँदैन, तर सेवासुविधा वृद्धि गरेर, लोक सेवा आयोगमार्फत दरबन्दी बढाएर र कार्यस्थल सुरक्षित बनाएर मात्र चिकित्सकलाई टिकाउन सकिन्छ ।”

मन्त्रालयले आगामी पाँच वर्षभित्र १२ हजार जनशक्ति थप्ने प्रस्ताव अघि बढाएको छ। यसै वर्ष २,५०० स्वास्थ्यकर्मी थप्ने प्रक्रिया अर्थ मन्त्रालयमा पुगेको छ । यस्तै, तलब भत्ता वृद्धि गर्ने र निजी क्षेत्रमा पनि न्यूनतम सेवासुविधा सुनिश्चित गर्नेबारे छलफल भइरहेको छ ।

चुनौती र भविष्य

तर यस्ता योजनाले तत्कालै समस्या हल गर्ने देखिँदैन । किनभने चिकित्सकले पेशागत सम्मान, तलब र सुरक्षा तीनै कुरा खोज्छन् । विदेशले यी सबै सहजै दिइरहेका बेला नेपालमा मात्र आश्वासन र अनिश्चितता पाइरहेकाले पलायन रोकिने अवस्था छैन ।

नेपालमा ओएनएम ३२ वर्षअघि भएको दरबन्दीमै स्वास्थ्य प्रणाली टिकेको छ । त्यो पनि पुराना संरचना र कम जनशक्ति भरोसामा । अबको दशकमा चिकित्सक अभाव अझ गम्भीर बन्ने देखिन्छ।

चिकित्सकको पलायन केवल व्यक्तिगत निर्णय मात्र होइन, यो देशको स्वास्थ्य प्रणालीकै लागि संकट हो। गाउँ–शहरमा स्वास्थ्य सेवा कमजोर हुँदै जाने, विशेषज्ञ उपचार पाउन अझै कठिन हुने अवस्था आउँदैछ ।

सरकारले नीतिगत परिवर्तन, दरबन्दी विस्तार, सेवासुविधा वृद्धि र पेशागत सुरक्षा सुनिश्चित नगरेसम्म नेपालमा डाक्टर टिक्ने वातावरण बन्न सक्दैन।



प्रतिक्रिया दिनुहोस !