१९ मंसिर २०८२, शुक्रबार

नेपालमा मनसुन कमजोर : केही प्रदेशमा मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति :  21 August, 2025 6:33 am


काठमाडौँ । नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित भएकाले मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भएको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहेको छ ।

बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । यस्तै, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । यस अवधिमा पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै, बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !