१९ मंसिर २०८२, शुक्रबार

कुशे औँसी पर्व आज : बाबुकाे मुख हेर्ने दिन, गाेकर्णेश्वरमा विशेष मेला

प्रकाशित मिति :  23 August, 2025 6:46 am


काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्रकृष्ण औँसीका दिन कुशे औँसी पर्व मनाउँदैछन् । आजको दिन वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग हुने पवित्र कुश घर–घरमा भित्र्याइन्छ ।

शास्त्रअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने विश्वास छ । आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने तर अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिने धार्मिक मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

सनातन धर्मअनुसार कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीसँगै पवित्र कुश उत्पन्न गरेका थिए ।

पितृ सम्मान र बाबुको मुख हेर्ने परम्परा

यस अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने भोजन खुवाएर आदर सम्मान प्रकट गर्ने परम्परा छ । बाबु नहुनेले भने गोकर्णेश्वर, बेत्रावती लगायतका पवित्र स्थलमा गई दिवङ्गत पिताको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्छन् ।

आज विशेषगरी काठमाडौँको उत्तरपूर्वी भागस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा ठूलो मेला लाग्छ । त्यहाँ दिवङ्गत बाबुको सम्झनामा तर्पण र श्राद्ध गर्न आउनेहरूको घुइँचो लाग्ने गर्छ । गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतका अनुसार मेलाका सबै तयारी पूरा गरिएको छ । यस्तै रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीमा पनि तर्पण र पिण्डदान गर्न विशेष मेला लाग्छ ।

पुण्य प्राप्तिको विश्वास

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन खुवाई आशीर्वाद लिने र दिवङ्गत पिताको नाममा तीर्थस्थलमा गई तर्पण गर्ने परम्परा रहेको धर्मग्रन्थहरूमा उल्लेख छ । बुद्धोक्त पाराजिकायमा समेत यस दिन गरिएको कार्यले कुल स्थिर हुने बताइएको छ ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले यसलाई पुण्य पर्व पनि भनिन्छ । दान भने सुपात्रलाई मात्र दिनुपर्ने, कुपात्रमा दिएको दान दुवैका लागि अनिष्ट हुने शास्त्रीय भनाइ छ ।

यसरी, कुशे औँसी पर्वले बाबुप्रतिको सम्मान, पितृप्रति श्रद्धा र परिवारको समृद्धिको प्रतीकका रूपमा नेपाली समाजमा विशेष महत्व बोकेको छ ।



प्रतिक्रिया दिनुहोस !