१९ मंसिर २०८२, शुक्रबार

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  23 August, 2025 6:53 am


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावसहित देशभर मनसुन गतिविधि केही बढ्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिनभर देशभर सामान्यतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी लुम्बिनी प्रदेशको तराई भू–भाग, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

यस्तै, आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका अधिकांश पहाडी भू–भागमा सामान्य बदली रहने पूर्वानुमान छ भने बाँकी भू–भागमा आंशिक बदली हुने बताइएको छ ।

राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले विशेषगरी पहाडी र तराईका बाढी–पहिरो सम्भावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !