१९ मंसिर २०८२, शुक्रबार

नेपालको निर्यात वृद्धिको नयाँ संकेत : साउन महिनामा २३ अर्ब ९३ करोड बराबरको वस्तु निर्यात

प्रकाशित मिति :  23 August, 2025 4:00 pm


काठमाडौँ । नेपालको अर्थतन्त्र लामो समयदेखि आयात–निर्यात असन्तुलनको समस्यामा जकडिएको छ । प्रत्येक वर्ष आयात तीव्र गतिमा बढिरहेको छ भने निर्यात कमजोर रहँदै आएको तथ्याङ्कले पुष्टि गर्दै आएको छ तर चालु आर्थिक वर्षको पहिलो महिनामा निर्यातमा देखिएको उल्लेख्य वृद्धिले दीर्घकालीन सम्भावनाको नयाँ ढोका खोलेको छ ।

भन्सार विभागका अनुसार साउन महिनामा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९५ दशमलव ७५ प्रतिशतले बढी हो ।

निर्यात वृद्धिको यो तथ्याङ्क केवल अंकमा मात्र सीमित छैन, यसले नेपालको उत्पादन क्षमता, बजार खोजी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवेश गर्ने क्षमताबारे पनि सन्देश दिन्छ ।

भटमास तेल : निर्यातको मुख्य आधार

साउन महिनाको निर्यात वृद्धिको मुख्य श्रेय भटमास तेललाई जान्छ । एक महिनामै १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँ बराबरको भटमास तेल विदेश पठाइएको छ, जुन कुल निर्यातको झण्डै आधाभन्दा बढी हो ।

भटमास तेल निर्यातले नेपालका कृषिजन्य उत्पादनलाई प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिने सम्भावना देखाएको छ । यसले किसानदेखि उद्यमीसम्मको उत्पादन शृंखला जोड्ने अवसर सिर्जना गरेको छ तर निर्यात एकै वस्तुमा अत्यधिक निर्भर हुनु दीर्घकालीन दृष्टिले जोखिमपूर्ण पनि छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतार–चढाव आउँदा वा आयातकर्त मुलुकको नीतिगत परिवर्तन हुँदा नेपालको निर्यात आयमा ठूलो धक्का पुग्न सक्छ । त्यसैले, भटमास तेललाई आधार मानेर अन्य कृषि उत्पादनलाई पनि प्रशोधित गरेर विविधीकरण गर्न सक्ने नीति आवश्यक छ ।

निर्यातमा नयाँ क्षेत्रहरूको सम्भावना

भटमास तेल बाहेक पनि साउनमा प्लाईउड, फलफुल जुस, धागो, गलैँचा, अलैँची जस्ता वस्तु निर्यात भएका छन् । यी उत्पादनहरू नेपालका लागि दीर्घकालीन निर्यात विस्तारका आधारस्तम्भ बन्नसक्ने देखिन्छन् ।

नेपाली वनसम्पदा र वनउद्योगलाई दिगो व्यवस्थापन गर्दै गुणस्तरीय प्लाईउडको निर्यात बढाउन सकिन्छ भने उर्वर भूमिबाट उत्पादित मौसमी फलफुललाई प्रशोधन गरेर जुस, जैम, अचार जस्ता खाद्य उत्पादन विदेशमा पठाउन सकिन्छ ।

त्यसैगरी, सस्तो श्रम र परम्परागत कौशललाई प्रयोग गरेर वस्त्र तथा धागो उद्योगलाई प्रवर्द्धन गर्ने सम्भावना छ भने अन्तर्राष्ट्रिय बजारमा अझै प्रबल रहेको हस्तकला र गलैँचालाई ब्रान्डिङ र प्रवर्द्धनमार्फत विस्तार गर्न सकिन्छ । यी सबै क्षेत्रहरूलाई निर्यातको वैकल्पिक आधार बनाउन सकिए व्यापार असन्तुलन कम गर्न ठूलो टेवा पुग्नेछ ।

व्यापार नाफा भएका बजार : अवसरको संकेत

युरोप र अमेरिका जस्ता मुलुकसँग नेपालको व्यापार नाफामा देखिएको छ । जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम र नर्वेलगायत मुलुकसँग नेपालले सापटीभन्दा बढी निर्यात गरेको तथ्याङ्कले देखाउँछ कि नेपालको उत्पादन त्यहाँको बजारमा प्रतिस्पर्धी बन्दै गएको छ ।

यी बजारसँगको सम्बन्धले नेपाललाई निर्यात विस्तार गर्ने सम्भावना देखाएको छ । अमेरिकी बजारमा हस्तकला, परिधान र कृषि उत्पादनको माग उच्च छ भने युरोपेली बजारले वातावरणमैत्री उत्पादनलाई प्राथमिकता दिन्छ ।

नेपालले आफ्नो निर्यात रणनीतिलाई यी मुलुकतर्फ केन्द्रित गर्न सके व्यापार घाटा घटाउने मात्र होइन, दीर्घकालीन आर्थिक लाभ लिन पनि सक्नेछ ।

आयात निर्भरता अझै चुनौतीपूर्ण

निर्यात वृद्धिको खुशीसँगै आयातको उच्च निर्भरता अझै पनि ठूलो चुनौती बनेको छ । साउन महिनामै एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । पेट्रोलियम पदार्थमै करिब १६ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ, जसमा पेट्रोल, डिजेल र एलपी ग्यास प्रमुख छन् ।

त्यस्तै, कच्चा सोयाबिन तेल, स्मार्टफोन, मोटरसाइकल, फलामजन्य वस्तु र सुनजस्ता वस्तुमा पनि उच्च परिमाणमा आयात भएको छ ।

यसरी हेर्दा निर्यात बढेको भए पनि आयातको मात्रा झन् ठूलो भएकाले कुल व्यापार घाटा एक खर्ब १९ अर्ब १० करोड ८२ लाख पुगेको छ । आयात–निर्यात असन्तुलनको यही संरचना नेपालका दीर्घकालीन आर्थिक स्वास्थ्यका लागि चिन्ताजनक बिन्दु हो ।

दीर्घकालीन चुनौती

दीर्घकालीन दृष्टिले नेपालका लागि निर्यात संरचना अझै कमजोर छ । भटमास तेलमा अत्यधिक निर्भरता हुनु एकांगी निर्यात संरचनाको प्रमुख समस्या हो । प्रशोधन उद्योग र उत्पादन विविधीकरणमा पर्याप्त लगानी नहुनु अर्को चुनौती हो, जसले औद्योगिकीकरणलाई अघि बढ्न दिएकै छैन ।

त्यस्तै, गुणस्तरीय सडक, भन्सार व्यवस्थापन र भण्डारण पूर्वाधारको कमीले निर्यात क्षमतामा बाधा पुर्‍याइरहेको छ । विदेशी बजार खोजीमा नेपालका दूतावास र वाणिज्य दूतावासहरू पर्याप्त सक्रिय हुन नसकेको कारण पनि निर्यात विस्तारमा चुनौती थपिएको छ । साथै, भारत, चीन र बंगलादेशजस्ता मुलुकसँग प्रतिस्पर्धा गर्न गुणस्तर र मूल्य व्यवस्थापनको चुनौती अझै कायम छ ।

दीर्घकालीन सम्भावना

यद्यपि निर्यातमा अपार सम्भावना पनि विद्यमान छ । नेपालले कृषि उत्पादनलाई प्रशोधन गरेर निर्यात गर्न सके ठूलो अवसर प्राप्त गर्न सक्छ । सोयाबिन, अदुवा, अलैँची, फलफुलजस्ता उत्पादन प्रशोधित गरेर पठाउने हो भने मूल्यवृद्धि गर्न सकिन्छ । हस्तकला र सांस्कृतिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरेर अझ प्रभावकारी ढंगले प्रस्तुत गर्न सकिन्छ ।

त्यसैगरी, नेपालमा पाइने सस्तो श्रम र सीपलाई उपयोग गर्दै धागो, कपडा र रेडिमेड गार्मेन्ट्स निर्यात उद्योगलाई विस्तार गर्न सकिन्छ ।

जैविक खेती, औषधिजन्य उत्पादन र वातावरणमैत्री वस्तुलाई युरोपेली बजारमा पुर्‍याउने अवसर पनि उत्तिकै प्रबल छ । साथै, वस्तु मात्र नभई सेवा निर्यातमा पनि नेपाल अघि बढ्न सक्छ, जसमा शिक्षा, पर्यटन र सूचना प्रविधि महत्वपूर्ण क्षेत्र बन्न सक्छन् ।

विशेषज्ञहरूको सुझाव

अर्थशास्त्रीहरूका अनुसार निर्यात वृद्धिलाई दिगो बनाउन सरकारले तीन तहमा ध्यान दिनुपर्छ । पहिलो, नीतिगत स्थिरता कायम गर्दै निर्यातमुखी उद्योगलाई कर छुट, लगानी प्रोत्साहन र प्रशोधन उद्योगलाई विशेष प्रोत्साहन दिनुपर्छ ।

दोस्रो, सडक, भन्सार, भण्डारण र प्रशोधन उद्योगमा दीर्घकालीन लगानी गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्छ । तेस्रो, अन्तर्राष्ट्रिय मेलामा सहभागिता, दूतावासमार्फत सक्रिय प्रवर्द्धन र निजी–सार्वजनिक सहकार्यद्वारा बजार विस्तारमा जोड दिनुपर्छ ।

साउन महिनामा निर्यातमा देखिएको ९५ प्रतिशत वृद्धि केवल अंकको खेल मात्र होइन, नेपालको सम्भावनाको नयाँ परिचय हो । भटमास तेललाई आधार बनाएर अन्य उत्पादनको विविधीकरण गर्न सक्ने हो भने नेपालले आयात निर्भरता कम गर्दै व्यापार घाटा नियन्त्रण गर्न सक्छ । यो सम्भावनालाई दीर्घकालीन उपलब्धिमा परिणत गर्न निर्यातलाई आर्थिक नीतिको मूल प्राथमिकता बनाउन आवश्यक छ ।

उद्योग, कृषि, हस्तकला र सेवाक्षेत्रलाई निर्यातमुखी बनाउन सकियो भने नेपालको समृद्धि यात्रामा निर्यात नै आधारस्तम्भ बन्नसक्छ ।



प्रतिक्रिया दिनुहोस !