नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने एमालेको माग, संसद अवरुद्ध गर्ने चेतावनी
काठमाडौं । नेकपा (एमाले) ले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तथा त्यससम्बन्धी छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेको छ। प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता नभएसम्म संसदको कारबाही अघि बढ्न नदिने चेतावनी पनि एमालेले दिएको छ।
संसदीय दलकी उपनेता पद्मा अर्यालले नीति तथा कार्यक्रम सरकारको एक वर्षे मार्गदर्शक दस्ताबेज भएकाले यसप्रति प्रधानमन्त्री नै मुख्य रूपमा जवाफदेही हुनुपर्ने बताइन्। प्रधानमन्त्री काठमाडौंमै रहेर अन्य कार्यक्रममा सक्रिय भए पनि संसदलाई समय नदिनु गैरजिम्मेवार कदम भएको उनको टिप्पणी थियो।
अर्थमन्त्रीलाई ‘वारेस’ तोकिएको विषयमा आपत्ति जनाउँदै अर्यालले स्थापित संसदीय परम्पराअनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, छलफल सुन्ने र त्यसको जवाफ दिने दायित्व प्रधानमन्त्रीकै हुने बताइन्।
उनले प्रतिपक्षको असहमति हुँदासम्म संसद सहज रूपमा सञ्चालन हुन नसक्ने चेतावनी दिँदै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने धारणा राखिन्।
“नीति तथा कार्यक्रम सरकार कसरी अघि बढ्छ भन्ने मार्गदर्शन गर्ने दस्ताबेज हो। त्यसबाट प्रधानमन्त्री पन्छिन मिल्दैन,” सञ्चारकर्मीसँग उनले भनिन्।
हाल संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियाे सभामुखले दलका नेतासँग छलफल गरेर पुनः संसद वैठक सुरू गरेका छन् ।
प्रधानमन्त्रीको उपस्थितिबारे स्पष्ट प्रतिबद्धता नआएसम्म एमालेले अवरोध जारी राख्ने संकेत दिएको छ।
– न्युज एजेन्सी नेपाल








