१९ मंसिर २०८२, शुक्रबार

तरलताको चाप व्यवस्थापनमा राष्ट्र बैंक : थप ५० अर्ब प्रशोचन गर्दै

अधिक तरलता नियन्त्रण गर्न चालु आर्थिक वर्षको डेढ महिनामै ३ खर्ब २४ अर्बभन्दा बढी सोसिसकेको राष्ट्र बैंक
प्रकाशित मिति :  24 August, 2025 11:27 am


काठमाडौँ । नेपाली वित्तीय प्रणाली लामो समयदेखि अधिक तरलताको चपेटामा परेको छ। तरलता भनेको सामान्यतया बजारमा कर्जा प्रवाह गर्न सक्ने नगद उपलब्धता हो तर मागभन्दा धेरै नगद बैंक तथा वित्तीय प्रणालीमा थुप्रिनु आफैंमा समस्या बनेको छ ।

यही समस्या समाधान गर्न केन्द्रीय बैंक अर्थात् नेपाल राष्ट्र बैंक लगातार बजारबाट पैसा तान्ने रणनीतिमा अघि बढिरहेको छ ।आइतबार पनि राष्ट्र बैंकले थप ५० अर्ब रुपैयाँ प्रणालीबाट निकाल्ने घोषणा गरेको छ ।

यसअघि साउन ११ गते खिचिएको ४१ अर्ब १० करोड रुपैयाँ परिपक्क हुने भएकाले त्यसलाई प्रतिस्थापन गर्नेगरी नयाँ तरलता प्रशोचन गर्न लागिएको हो । यसरी लगातार पैसा सोस्दा पनि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था अन्त्य भएको छैन ।

ब्याजदर घटे पनि कर्जा प्रवाह सुस्त

नेपालको बैंकिङ क्षेत्रले पछिल्लो एक वर्षभन्दा बढी समयदेखि कर्जा प्रवाहमा ठप्पजस्तै अवस्था भोगिरहेको छ । ब्याजदर ऐतिहासिक रूपमा न्यून भएर पनि उद्यमी तथा उद्योगहरूले कर्जा लिन खासै चासो देखाइरहेका छैनन् । यसको मूल कारण बजारमा माग कम हुनु, व्यवसायिक वातावरण सुस्त हुनु र लगानीमैत्री परिस्थिति निर्माण हुन नसक्नु हो ।

उद्योग–व्यवसाय विस्तार नभएपछि बैंकमा जम्मा भएको रकम कर्जामा परिणत हुन सकेको छैन । परिणामस्वरूप, बैंकहरूको कोष निष्क्रिय भएर बसिरहेको छ । यस्तो परिस्थितिमा राष्ट्र बैंकले वित्तीय स्थिरता कायम राख्न तरलता संकलन उपकरणको प्रयोग गर्न बाध्य भएको हो ।

डेढ महिनामै ३ खर्ब २४ अर्ब भन्दा बढी सोसियो

चालु आर्थिक वर्ष सुरु भएको डेढ महिनामै राष्ट्र बैंकले ३ खर्ब २४ अर्ब २० करोड रुपैयाँ प्रणालीबाट सोसिसकेको छ। यसरी ठूलो मात्रामा पैसा बजारबाट निकालिनु आफैंमा असामान्य अवस्था हो । यसले बैंकिङ प्रणालीमा तत्काल कर्जा माग नभएको र निजी क्षेत्र सुस्त रहेको संकेत गर्छ ।

तरलता प्रशोचनका लागि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणलाई प्राथमिकता दिएको छ। यसैअन्तर्गत २१ दिनका लागि थप ५० अर्ब निक्षेप संकलन गरिँदैछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणकमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । संकलन गरिएका रकम भदौ २९ गते परिपक्व हुनेछन् ।

माग घट्दा तरलता ‘समस्या’

आर्थिक गतिविधि शिथिल हुँदा माग घटेको छ । निर्माण, उद्योग, व्यापारजस्ता क्षेत्रमा लगानी बढ्न सकेको छैन । नयाँ परियोजना र उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षण नहुँदा बैंकको पैसाले गति पाउन सकेको छैन ।

अर्थतन्त्रका लागि सामान्यतया अधिक तरलता सकारात्मक मानिन्छ तर निरन्तर माग नहुँदा र नगद निष्क्रिय भएर बस्दा यसले उल्टै वित्तीय प्रणालीलाई दबाबमा पुर्‍याउँछ । यसले बैंकहरूको नाफा घटाउने मात्र होइन, आर्थिक वृद्धिदरमा समेत नकारात्मक असर पार्ने खतरा बढाएको छ ।

राष्ट्र बैंकको सकस

राष्ट्र बैंकका लागि हालको अवस्था व्यवस्थापन सजिलो छैन । एकातिर कर्जा प्रवाह बढाउन दबाब छ भने अर्कोतिर अधिक तरलता व्यवस्थापन गर्नुपर्ने चुनौती छ । निजी क्षेत्रको लगानी विस्तार नभएसम्म यो समस्या समाधान हुने देखिँदैन ।

वित्तीय विश्लेषकहरूका अनुसार वर्तमान परिस्थिति दीर्घकालीन अर्थतन्त्रको स्वास्थ्यका लागि खतरनाक बन्न सक्छ । किनकि, बैंकमा पैसा थुप्रिनु भनेको उत्पादन र लगानीमा गतिशीलता नहुनु हो ।

यसकारण राष्ट्र बैंकको तरलता सोस्ने कार्य तत्कालीन व्यवस्थापनको उपाय मात्र हो । वास्तविक समाधान भने निजी क्षेत्रमा लगानीको वातावरण बनाउन सक्दा मात्र सम्भव छ ।



प्रतिक्रिया दिनुहोस !