घरघरमा तीजको उत्सव सुरु : दर पकाउने तयारीमा महिलाहरु
काठमाडौँ । भाद्र शुक्ल द्वितीयाको साँझ, नेपाली महिलाको अनुहारमा देखिने मुस्कान, रसोईघरमा पाक्ने दरका परिकार र गीतको लयमा रमाउने उल्लास-तीजको आगमनसँगै देशभरको माहोल यहीँ हुन्छ । महिलाले वर्ष दिनभरि आफूलाई परेका दुःख, पीडा र मर्कालाई गीतमार्फत पोख्ने अवसरका रूपमा पनि तीजलाई मनाउने गरेका छन् ।
परम्पराअनुसार तीजको पहिलो दिन ‘दर’ खाने चलन छ । दिदी–बहिनी, छोरी–चेलीलाई दाजुभाइ वा आमाबाबुले बोलाएर मिठा परिकार खुवाउने संस्कारलाई ‘दर’ भनिन्छ । यस दिन व्रतालु महिलाले मीठामीठा परिकार खाएर तृतीयाको व्रत बस्ने तयारी गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, दर खाने शास्त्रीय विधान भाद्र शुक्ल द्वितीयाको बेलुकी तोकिएको हो ।
तीज पर्व केवल धार्मिक व्रत मात्र होइन, महिलाको संवेदना व्यक्त गर्ने पर्व पनि हो । जन्मघर छाडेर कर्मघरमा पुगेकी महिलाले भोगेका दुःख–सुख तीजका गीतमार्फत पोख्ने गर्छन् । यही कारण तीजलाई नारीको उत्सव र अधिकार अभिव्यक्तिको पर्वका रूपमा पनि बुझिन्छ ।
पछिल्ला वर्षमा तीजको नाममा देखिएको तडकभडक र प्रदर्शनले यसको मौलिक संस्कृतिलाई कमजोर बनाइरहेको समाजशास्त्रीहरूको भनाइ छ । गरगहना र पोशाक प्रदर्शन गर्ने, एक महिनाअगाडिदेखि नै दर खाने चलन जस्ता गतिविधिले तीजलाई उपभोक्तावादी संस्कृतितर्फ धकेलिरहेको तर्कसमेत गरिन्छ । संस्कृतिविद्हरूका अनुसार, यस्ता विकृति रोक्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।
तीज दर खाने दिनदेखि ऋषिपञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत बसिन्छ, चौथीमा गणेशपूजा गरिन्छ र पञ्चमीका दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरेर स्नान गर्ने परम्परा छ । पुराणअनुसार हिमालयकी पुत्री पार्वतीले कठोर तपस्या गरेर भगवान् शिवलाई पतिको रूपमा प्राप्त गरेको कथासँग यो पर्व जोडिएको छ । साथीहरुले हरण गरी लुकाएको दिन पार्वतीले निराहार व्रत बसेकी थिइन्, त्यसैले यसलाई हरितालिका भनिएको विश्वास छ ।
तीजको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको भीड लाग्ने गर्छ । महादेवको पूजा–अर्चना गरेर निराहार व्रत बस्ने महिलाले दिनभर गीत गाउने, नाच्ने र आस्था पोख्ने गर्छन् ।
आज पनि राजधानीका गल्ली–टोलमा ‘तीजको रहर आयो बरी लै’ भन्ने गीतहरू रेडियो–टेलिभिजन र सामाजिक सञ्जालमा गुन्जिरहेका छन् । परिवार र साथीभाइसँगै मनाइने यो पर्वले महिलाको एकताको सन्देश दिनुका साथै सांस्कृतिक रंगलाई अझ गाढा बनाइरहेको छ ।
दरको स्वाद, गीतको स्वर, व्रतको आस्था र पार्वतीको तपस्याको सम्झनाले तीजलाई नेपाली महिलाको जीवनमा हर वर्ष नयाँ उल्लास ल्याइरहेको छ । यही हो तीज नारीको आस्था, संस्कार र संवेदनाको अद्वितीय पर्व ।








