देशभर वर्षाको क्रम जारी : कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहँदा देशभर वर्षाको गतिविधि सक्रिय देखिएको महाशाखाले जनाएको छ । सोमबार दिनभर देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै भू–भागमा पनि वर्षा हुने सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने महाशाखाले चेतावनी दिएको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।
सोमबार राति पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । पछिल्लो २४ घण्टामा देशभर हल्का देखि मध्यम वर्षा भएको विभागले जनाएको छ । सो अवधिमा लम्जुङको बेसीसहरमा सर्वाधिक ९०.२ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै, लम्जुङकै खुदी बजारमा ८८ मिलिमिटर, फलेनीमा ६७.४, भुजुङमा ५०.२ मिलिमिटर, सिन्धुपाल्चोकको चन्दर्कुमा ६७, काठमाडौंको बूढानीलकण्ठमा ४७.६ तथा कास्कीको चोम्रोङमा ४८.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
मौसमविद्हरूले तीव्र वर्षा हुने सम्भावनाले पहिरो, बाढी तथा नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।








