सन्दीपको ह्याट्रिकसहित ५ विकेट : अस्ट्रेलियन क्यापिटल टेरिटोरी विरुद्ध नेपाल ४१ रनले विजयी
काठमाडौँ । सन्दीप लामिछानेको घातक बलिङ प्रदर्शनपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध पहिलो टी–२० अभ्यास खेलमा शानदार जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा नेपाल ४१ रनले विजयी भएको हो।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको चुनौती पेश गरेको थियो । नेपालका लागि ओपनर आशिफ शेखले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३६ रन, आरिफ शेखले २४ तथा दीपेन्द्रसिंह ऐरीले २१ रनको योगदान दिए ।
१७८ रनको लक्ष्य पछ्याएको एसीटीले नेपाली बलरहरूको कडा आक्रमण सामना गर्न सकेन। १७.२ ओभरमै सबै विकेट गुमाउँदै उनीहरू १३६ रनमै अलआउट भए ।
नेपालका लागि सन्दीप लामिछानेले शानदार प्रदर्शन गर्दै ४ ओभरमा ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए। यसैगरी करण केसीले २ विकेट, रुपेश सिंह, गुल्सन झा र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे । यस जितसँगै नेपालले अष्ट्रेलिया भ्रमणको सुरुआत उत्कृष्ट नतिजासहित गरेको छ।








