१९ मंसिर २०८२, शुक्रबार

आज ऋषि पञ्चमी : आस्था, शुद्धि र सांस्कृतिक परम्पराको दिन

प्रकाशित मिति :  28 August, 2025 7:26 am


दाङ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज देशभरका महिलाले विशेष आस्था र निष्ठासाथ मनाउँदैछन् । अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी मनाइने यस पर्वलाई महिलाको शारीरिक चक्र, शुद्धि र धार्मिक संस्कारसँग जोडिएको पर्वका रूपमा लिइन्छ ।

परम्पराअनुसार महिलाले बिहानै नदी, पोखरी वा तलाउँमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ ।

यो प्रक्रियाले शुद्धि दिलाउने विश्वास रहँदै आएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार महिलाले मासिक चक्रको समयमा हुने त्रुटि वा अशुद्धिबाट मुक्ति पाउन ऋषि पञ्चमीको पूजा गर्ने धार्मिक परम्परा बसालिएको हो ।

यस दिन महिलाले सप्तऋषि — अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित अरुन्धतीको पूजा गर्ने प्रचलन छ । सप्तऋषिलाई स्मरण गर्ने भएकैले यो पञ्चमीलाई ‘ऋषि पञ्चमी’ नाम दिइएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

ऋषि पञ्चमीसँग सम्बन्धित किंवदन्ती पनि प्रचलनमा छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको वध गरेपछि ब्रह्महत्या दोष भोग्नुपरेको र उक्त दोषको अंश स्त्री, वृक्ष, जल र पृथ्वीमा बाँडिएको विश्वास पाइन्छ । स्त्रीमा रजस्वला प्रक्रियाको उत्पत्ति पनि त्यही धार्मिक व्याख्याले जोडिन्छ । त्यसैले आजको दिन सप्तऋषिको पूजा गरी दोष निवारण गर्ने जनविश्वास रहँदै आएको पण्डित मधुसूदन सुवेदी बताउनुहुन्छ ।

यस दिन महिलाले नरोपी अन्नजस्ता सामा, कागुनो, कन्दमूल र कर्कला खाई एक छाक हविष्य बस्ने व्रत गर्ने परम्परा छ । काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिर, मूलपानीलगायत देशभरका मन्दिरमा पूजाआजाका लागि बिहानैदेखि महिलाको भीड लाग्ने गरेको छ ।

ऋषि पञ्चमीलाई केवल धार्मिक पर्व मात्र नभई महिलाको स्वास्थ्य सचेतना, शरीरको स्वाभाविक चक्रलाई सामाजिक मान्यता दिने परम्परा तथा सांस्कृतिक शुद्धताको अभ्यासका रूपमा पनि व्याख्या गर्न सकिने देखिन्छ । यसरी आजको दिन आस्था, शुद्धि र परम्परासँगै सामाजिक चेतनाको अभिव्यक्ति पनि बन्न पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !