१९ मंसिर २०८२, शुक्रबार

आजकाे माैसम : पाँच प्रदेशमा वर्षाकाे अनुमान

प्रकाशित मिति :  28 August, 2025 7:32 am


काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी गतिविधि सक्रिय रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई क्षेत्र तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

आज राति देशभर सामान्य बदली हुने महाशाखाले जनाएको छ । यस अवधिमा पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।

महाशाखाले लगातारको वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला तथा साना नदी–नालामा पानीको सतह उक्लन सक्ने तथा यातायात क्षेत्रमा समस्या आउन सक्ने सम्भावना औंल्याउँदै सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !