देशभर मनसुन सक्रिय : केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा बढेसँगै नेपालका विभिन्न भूभागमा मनसुन केही सक्रिय बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपासमै सक्रिय रहेकाले वर्षाको सम्भावना बढेको हो ।
महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशभर आकाश बदली रहनेछ भने सबै प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। यससँगै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । यस अवधिमा विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी महाशाखाले जारी गरेको छ ।
भारी वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहन सक्ने, ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा असर पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो अवस्थामा महाशाखाले स्थानीयवासी, सरोकारवाला निकाय र यातायात क्षेत्रमा संलग्न सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ ।








