पाँच महिनामै ३ हजार बढी विपद् : सबैभन्दा बढी आगलागीका, सर्पदंशले सर्वाधिक मृत्यु
काठमाडौँ । गत वैशाखदेखि भदौ १४ गतेसम्म नेपालभरि ३,२८१ वटा विपद्का घटना दर्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाबाट ५,९६३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
पाँच महिनाको अवधिमा २०७ जनाकाे मृत्यु भएकाे छ भने २२ जना अझै बेपत्ता छन् । यसैबीच ७७४ जना विभिन्न विपद्मा परेर घाइते भएका छन् ।
आंकडाले देखाउँछ, नेपालमा विपद्को स्वरूप फरक–फरक छ । संख्याका हिसाबले सबैभन्दा धेरै १,१९७ वटा आगलागीका घटना भएका छन्, तर त्यसबाट १५ जनाको मात्र मृत्यु भएको छ ।
यसको उल्टो, सर्पदंशका घटना २६८ मात्र भए पनि यसले ७२ जनाको ज्यान लिएको छ, जुन सबै विपद्मा सर्वाधिक हो । यसरी विपद् घटना र त्यसले पारेको मानवीय क्षतिको आयाम सधैँ समानुपातिक नहुने प्रष्ट हुन्छ ।
अन्य प्राकृतिक प्रकोपमा पनि उल्लेख्य क्षति भएको छ । बाढीका २४३ घटनामा २७ जनाले ज्यान गुमाए भने २२ जना बेपत्ता र १० जना घाइते भए । पहिरोका ३६८ घटनामा १८ जनाको मृत्यु र २८ जना घाइते भए ।
चट्याङ २५८ पटक परेकोमा ३१ जनाले ज्यान गुमाए र १९३ जना घाइते भए । त्यस्तै, २८० पटक चलेको हुरीबतासमा ८ जनाको ज्यान गएको छ भने ४१ जना घाइते भएका छन् ।
यसबाहेक भारी वर्षा, वन डढेलो, जनावर आक्रमण, लेक लाग्ने, भूकम्प, डुङ्गा पल्टिने, असिना र महामारीजस्ता घटनाले समेत जनधनमा उल्लेख्य क्षति पुर्याएका छन् ।
यी तथ्यले नेपाल अझै पनि ‘विपद्–संवेदनशील देश’ रहेको देखाउँछन् । भौगोलिक विविधता र प्राकृतिक चुनौतीसँगै दैनन्दिन जीवनसँग प्रत्यक्ष जोडिएका घटना जस्तै सर्पदंश र चट्याङले बढी ज्यान लिइरहेको तथ्य अझै चिताजनक छ ।
प्राधिकरणले नागरिकलाई सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ । सरोकारवालाले स्थानीय तहदेखि केन्द्रसम्म दिगो पूर्वतयारी, जनचेतना अभिवृद्धि र समयमै उद्धारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
विपद् न्यूनीकरणलाई नीतिगत प्राथमिकता नदिइसम्म मानविय क्षति घटाउन सकिँदैन भन्ने चेतावनी पनि यसबीच प्रष्टसँग उभिएको छ ।








