बिकराल बन्दै जापानिज इन्सेफलाइटिस : पुस यता २३ जनाको मृत्यु
मृत्यु दर र संक्रमणको फैलावट द्रुतगतिमा बढेसँगै इन्सेफलाइटिस अब स्वास्थ्य संकटका रूपमा बिकराल बन्दै
काठमाडौँ । देशभर जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ। पुस यता मात्र ११३ जनामा सङ्क्रमण देखिँदा २३ जनाले ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्य सेवा विभागको परिवारकल्याण महाशाखाका तथ्याङ्कअनुसार अहिलेसम्म ३६ जिल्लामा यो रोग फैलिएको छ। लुम्बिनी प्रदेश सबैभन्दा प्रभावित बनेको छ, जहाँ ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै बागमतीमा १८, कोशीमा १७, गण्डकीमा १६, सुदूरपश्चिममा ९ र कर्णाली प्रदेशमा २ जनामा सङ्क्रमण भेटिएको विभागले जनाएको छ ।
मृत्यु हुनेमा लुम्बिनीका ८, बागमतीका ४, गण्डकीका ४, कोशीका ३, मधेशका ३ र सुदूरपश्चिमका १ जना रहेका छन्। मृत्यु दर बढ्दै गएपछि स्वास्थ्य क्षेत्र चिन्तित बनेको छ ।
साउनदेखि कार्तिक महिनासम्म बढी सक्रिय हुने यो रोग उच्च मृत्युदर भएको रोग मानिन्छ । संक्रमितमध्ये १५ देखि ३० प्रतिशत बिरामीको ज्यान जाने जोखिम रहन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की नेसनल सर्भिलेन्स अधिकृत डा. सोनिया भगतका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा आक्रमण गर्ने गम्भीर रोग हो, जसका कारण बिरामी पक्षघात, कोमा वा मृत्युको जोखिममा पुग्छन् ।
यो रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। संक्रमित सुँगुर, बङ्गुर वा चरालाई टोकेपछि लामखुट्टेले मानिसलाई टोक्दा रोग सर्छ ।
साँझ र बिहानको झिसमिसे समयमा यी लामखुट्टे बढी सक्रिय हुने भएकाले जोखिम उच्च हुने चिकित्सकहरूको भनाइ छ ।चिकित्सकहरूले रोग नियन्त्रणका लागि लामखुट्टेबाट बच्ने उपायलाई नै मुख्य आधार मानेका छन् ।
झुलमा सुत्ने, लामो बाहुला भएको कपडा लगाउने, लामखुट्टे धपाउने मलम वा धूप प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने, झाडी र फोहोर हटाउने, पानी भण्डारण गर्ने भाँडा छोपेर राख्ने सुझाइएको छ ।
सरकारले रोग नियन्त्रणका लागि खोपलाई प्रमुख साधनको रूपमा अघि सारेको छ । जापानिज इन्सेफलाइटिस विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत समावेश गरिएको छ र १२ महिनाका बालबालिकालाई निःशुल्क वितरण हुँदै आएको छ ।
मृत्यु दर र संक्रमणको फैलावट द्रुतगतिमा बढ्दै गएसँगै जापानिज इन्सेफलाइटिस अब स्वास्थ्य संकटका रूपमा बिकराल बन्दै गएको देखिन्छ ।








