१९ मंसिर २०८२, शुक्रबार
सन्दर्भ : प्रदेश निजामती सेवा दिवस–२०८२

नसर्ने रोगको संक्रमण बढ्नु चिन्ताजनक-मन्त्री सारु

प्रकाशित मिति :  5 September, 2025 10:25 am


दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेशमा नसर्ने तथा दीर्घ रोगीहरूको संख्या तीव्र गतिमा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

प्रदेश निजामती सेवा दिवस–२०८२ को अवसरमा शुक्रबार देउखुरीस्थित राप्ती उपत्यकामा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सारुले क्यान्सर, मुटु र मृगौला रोगजस्ता दीर्घ रोगहरू भयावह रूपमा फैलिइरहेको तथ्यांकले देखाएको उल्लेख गरे । उनले सबै नागरिकले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल मान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

मन्त्री सारुले उपचार सहयोगका कारण प्रदेश सरकारले ठूलो आर्थिक भार व्यहोर्नु परेको जानकारी पनि दिए । उनका अनुसार २०७९/८० मा २२४ जनालाई ९ करोड १८ लाख रुपैयाँ उपचार सहयोग गरिएकोमा २०८१/८२ मा ३ हजार ८५१ जनालाई सहयोग गर्नुपरेको र सो क्रममा १९ करोड रुपैयाँ खर्च भएको छ ।

“मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्ने र क्यान्सर उपचारमा प्रदेश सरकारले दुई लाखसम्म सहयोग गर्दै आएको छ, तर यसले ठूलो वित्तीय दायित्व थपेको छ,” मन्त्री सारुले बताए ।

उनले स्वास्थ्यप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । “अत्यधिक मानसिक तनाव, अनियमित आहार–विहार, उच्च रक्तचाप, सुगर र क्यान्सरजस्ता रोग तीन वर्षको तथ्यांक अनुसार तीन सय प्रतिशतले बढेका छन्,” उनले चेतावनी दिए ।

सो कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रदेश सचिवहरू कविन्द्र नेपाल, लिलाधर सुवेदी, मोतिराम सापकोटा, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमलगायतको उपस्थिति थियो ।

नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोग र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा प्रदेश सरकारका सचिव, मुख्यमन्त्री सचिवालयका प्रतिनिधि, विभिन्न मन्त्रालयका कर्मचारी तथा सुरक्षाकर्मीहरूले रक्तदान गरेका थिए । साथै रक्तदानसँगै स्वास्थ्य परीक्षण कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !