आजदेखि सोह्रश्राद्ध आरम्भ
काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मअनुसार प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) अनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नसम्म सम्पन्न गर्नुपर्ने छ ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र दिन दिवंगत पितृहरूलाई तर्पण, सिदादान र पिण्डदान गरी श्रद्धाभावपूर्वक सम्झने प्रचलनलाई नै सोह्रश्राद्ध भनिन्छ ।
सोह्रश्राद्धलाई अपर, प्रेत पक्ष आदि नामले पनि चिनिन्छ । यस अवधिमा पितृहरूले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने शास्त्रीय वचनका आधारमा पितृप्रतिको दायित्वबोध गर्न सोह्रश्राद्धलाई विशेष महत्व दिइएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् ।
उनका अनुसार जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएका अवस्था बाहेक श्राद्ध छोड्नु हुँदैन । कुनै कारणवश रोकिएमा शास्त्रमा विकल्प दिइएको छ ।
आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म, वा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन), त्यहाँ पनि गर्न नसके मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने व्यवस्था धर्मशास्त्रका ग्रन्थहरूमा उल्लेख छ ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका प्रा.डा. भट्टराईका अनुसार पिताका तिथिको श्राद्ध अपराह्नकालमै गर्नुपर्छ भन्ने शास्त्रीय व्यवस्था भए पनि कतिपय पुरोहितहरूले बिहानै श्राद्ध गराउने प्रचलनलाई समितिले शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ ।
श्राद्ध गर्न नसक्नेहरूले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्रजप १० महिनासम्म गर्न सक्ने धार्मिक व्यवस्था पनि रहेको छ । यसरी पनि पितृले तृप्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।
सोह्रश्राद्ध समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृतृप्तिका लागि श्राद्ध गर्ने परम्परा वैदिक सनातन धर्ममा रही आएको छ ।








