१९ मंसिर २०८२, शुक्रबार

जेन-जी आन्दोलनको ज्वालामा लुम्बिनीमा ध्वस्त भए अर्बाैँका संरचना

प्रकाशित मिति :  10 September, 2025 11:25 am


दाङ । जेन-जी आन्दोलनबाट लुम्बिनी प्रदेशले ठूलाे क्षति बेहाेरेकाे छ । सोमबार राजधानीमा भएकाे घटनाले लुम्बिनीका शहरहरूमा प्रत्यक्ष असर पारे ।

काठमाडाैँमा भएकाे आन्दाेलनका क्रममा बाँकेका २ जना र अर्घाखाँचीका एक विद्यार्थीकाे मृत्यु भएको समाचार फैलिएसँगै बढेकाे आक्राेशले प्रदेशका मुख्य शहरका सरकारी र निजी संरचना दनदनी जले-जसबाट अरबाैँकाे क्षति भएकाे छ ।

मंगलबार बिहानैदेखि बुटवल, भैरहवा, नेपालगञ्ज, घोराही, तुलसीपुर, काेहाेलपुरलगायतका शहरहरू आन्दोलनको केन्द्र बने । प्रशासनले कफ्र्यू जारी गरे पनि भीडलाई रोक्न सकेन । प्रदर्शनले सामान्य रूप पार गर्न सकेन, त्यसले एकाएक प्रदेशका सरकारी, राजनीतिक नेतृत्व र कार्यालयहरूलाई निशाना बनायो अनि सुरु भयाे ताेडफाेड र आगजनी । जाे हेर्दाहेर्दै ध्वस्त भए ।

प्रदर्शनका क्रममा दाङ सबैभन्दा बढी प्रभावित बन्यो । दाङमा अदालत, आन्तरिक राजश्व कार्यालय , इलाका प्रशासन कार्यालय , मालपोत र नापी कार्यालय , नगर विकास समिति, कारागार, तुलसीपुर, घाेराही उपमहानगरपालिकाका कार्यालय वडा कार्यालयहरु जलेका छन् । त्यस्तै एमाले, कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयहरु जलाइएका छन् ।

पूर्वमुख्यमन्त्री डिल्ली चौधरी, एमाले महासचिव शंकर पोखरेल, नेता कोमल वली, कांग्रेस नेता गेहेन्द्र गिरी, पूर्वमन्त्री हिराचन्द्र केसी र दीपक गिरीका घरमा आक्रमण र आगजनी भएकाे छ ।

घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र प्रदेशसभा सदस्य राजु खनालको निवास पनि आन्दोलनकारीको निशानामा परे । यसका साथै जिल्ला अदालत, जिल्ला समन्वय समिति, नेपाल बार एसोसिएसन, ट्राफिक कार्यालय पनि जलेका छन् ।

रुपन्देही पनि आन्दाेलनकाे निसानामा पर्याे । पूर्वमुख्यमन्त्री लिला गिरी, मन्त्री भूमिश्वर ढकाल, पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठको घरमासमेत आगो लगाइयो । बुटवलमा इलाका प्रशासन कार्यालय , मालपोत, नापी र बुटवल उपमहानगरपालिकाका कार्यालय नष्ट भएका छन् । कपिलवस्तुको बाणगंगा र शिवराज नगरपालिकाका कार्यालय जलेका छन् । यसका साथै भूमिसुधार मन्त्री बलराम अधिकारी, राष्टिय सभाका उपाध्यक्ष बिमला घिमिरे, पूर्वमन्त्री चक्रपाणी खनालका निवाससहित पार्टी कार्यालयमा ताेडफाेड र आगजनी भएकाे छ ।

अर्घाखाँचीमा पनि उस्तै विनाश भयो । मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घर जलेर खरानी भयो । सबै दलका पार्टी कार्यालय जलाइएका छन् । सन्धीखर्क नगरपालिका र नगरपालिकाको वडानम्वर १ र २ को कार्यालय, जिल्ला समन्वयय समिति कार्यालय, कारागारमा तोडफोड भएका छन् ।

बाँके र बर्दियामा आन्दोलनको अराजकता झनै चर्कियो । नेपालगञ्जमा यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन, भन्सार, राजस्व अनुसन्धान कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र वडानम्वर ८, इलाका प्रशासन कार्यालयसहित सबै सरकारी कार्यालयमा ताेडफाेड र आगजनी भएकाे छ । कांग्रेस र एमाले पार्टी कार्यालय जलाइएका छन् ।

बर्दियामा प्रदेशसभा सदस्य मालती सोडारी र प्रतिनिधिसभा सदस्य सञ्जय गौतमको निवास आक्रमणमा परे । बर्दियामा कांग्रेस र एमाले दुवैका पार्टी कार्यालय जलाइए । गुलरिया नगरपालिकासमेत आक्रमणको सिकार भयो ।

गुल्मीमा पनि कांग्रेस, एमाले र माओवादीका कार्यालय जलाइए । नवलपरासी पश्चिममा सुनवल नगरपालिका बाहेकका सबै स्थानीय तहका कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन, मालपोत, नापी, कर तथा सेवा कार्यालयदेखि सरकारी वकिल कार्यालयसम्म जलेर खरानी भए ।

तर, आन्दोलनको यो तुफान सबै ठाउँमा पुग्न सकेन । पाल्पा, रोल्पा र रुकुमपूर्वमा आन्दोलन भए पनि कार्यालय र संरचना सुरक्षित रहे । त्यहाँ कुनै सरकारी वा राजनीतिक संरचना ध्वस्त भएनन् ।

लुम्बिनीले बेहोरेको यो क्षति केवल भौतिक मात्र होइन, मानसिक र राजनीतिक पनि हो । न्याय दिने अदालत नै जलेपछि न्याय प्रणालीप्रति विश्वास कति टेकिन्छ ? कर उठाउने कार्यालय ध्वस्त भएपछि अर्थतन्त्र कस्तो हुन्छ ? नेताका घर जल्दा राजनीतिको अस्तित्व के अर्थमा रहन्छ ? आन्दोलनले प्रश्नहरूको थुप्रो थोपरेर गयो ।

जेन जीको विद्रोहले देखाएको छ-यो पुस्ता निरंकुशताको विरोधमा उठ्न सक्छ तर आन्दोलनको उग्र रूपले लुम्बिनीलाई प्रशासनविहीन, असुरक्षित र अनिश्चिततामा धकेलेर गयो । आज लुम्बिनी खरानीमाथि उभिएको छ, भोलि यस खरानीमाथिबाट के पुनःनिर्माण हुन्छ भन्ने प्रश्नले सबैलाई पिरोलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !