सामान्य बन्दै लुम्बिनी प्रदेश : यस्तो छ निषेधाज्ञा र कर्फ्यूको तालिका
दाङ । लुम्बिनी प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । काठमाडौँसहितका विभिन्न स्थानमा भएका विरोध प्रदर्शन र अशान्तिपूर्ण गतिविधिपछि शान्ति–सुरक्षाका लागि प्रशासनले कर्फ्यू र निषेधाज्ञा आदेशलाई निरन्तरता दिएका छन् ।
दाङ र रुपन्देहीमा जारी कर्फ्यू जारी छ, भने अन्य जिल्लामा केन्द्रकाे तालिका अनुसार दिनमा निषेधाज्ञा र राति कर्फू जारी रहेका छन् ।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आज भाद्र २६ गते बिहान ९ बजेदेखि राति १२ बजेसम्म जिल्लामा कर्फ्यू लागू गरिएकाे जानकारी दिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले भदौ २४ गते बेलुकी ८:३० बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाभर लागू गरिएकाे कर्फ्यू आदेश अझै जारी रहेकाे छ ।
यसका साथै प्रदेशका अन्य स्थानमा पनि केन्द्रको तालिका अनुसार निषेधाज्ञा र कर्फ्यू जारी छ । तालिका अनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुने व्यवस्था छ भने बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू कायम रहनेछ । निषेधाज्ञा र कर्फ्यू जारी रहे पनि अत्यावश्यकीय कामका लागि आवागमनमा कुनै वाधा नपुर्याइएकाे स्थानीय प्रशासनले जानकारी दिएका छन् ।
प्रदेशका पहाडी जिल्लाहरूमा भने अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ । त्यहाँ निषेधाज्ञा र कर्फ्यूको खासै प्रभाव नदेखिएको र दैनिक जनजीवन सहज बन्दै गएको बताइएको छ ।










