२४ बैशाख २०८१, सोमबार

नेपालको नयाँ नक्शासहितको संविधान संसोधन विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

प्रकाशित मिति :  18 June, 2020 6:37 pm


काठमाडौं, ४ असार । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संसोधन विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रिय सभाबाट पनि आज सर्वसम्मतिले पारित भएलगत्तै राष्ट्रपति भण्डारीले संविधान संसोधन विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपतिको प्रमाणीकरणसँगै यसअघि नेपालको नक्शामा छुटेको लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भूभाग समेटिएको निशान छाप औपचारिक प्रयोगमा आउने बाटो खुलेको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा ९१०० बमोजिम प्रमाणीकरण गर्नुभएको  छ ।’

यसअघि प्रतिनिधि सभामा पेश भएको संविधान संसोधन विधेयक जेठ ३१ गते दुईतिहाईसहित सर्वसहमतिले पारित भएको थियो । प्रतिनिधि सभामा पारित भएपछि राष्ट्रिय सभामा पठाईएको विधेयकपनि आज सर्वसम्मतिले पारित भएको थियो । दुबै सदनबाट पारित भएको केही घण्टामा नै राष्ट्रपति भण्डारीले संविधान संसोधन विधेयक प्रमाणीकरण गरेकी हुन् ।

नेपालको संविधान-२०७२ मा लिम्पियधुरा,कालापानी,लिपुलेकको भूभाग निशान छापको नक्शामा थिएन । सरकारले यि भूभागलाई समेटेर नक्शा जारी गरेपछि त्यसै अनुसार निशान छाप परिवर्तन गर्न संविधान संसोधन विधेयक दर्ता गराएको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले जेठ ५ गते नेपालको लिम्पियाधुरा,कालापानी,पिलुलेक समावेश गरेको नयाँ नक्शा स्वीकृत गरेको थियो ।
स्वीकृत नक्शा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमै नियमित पत्रकार सम्मेलन गरेर जेठ ७ गते सार्वजनिक गरेकी थिईन् ।

नयाँ नक्शा अनुसार निशान छाप संसोधन दर्ता गराउन सरकारले जेठ ९ गते संविधान संसोधन विधेयक संसदमा दर्ता गराएको थियो । भारत सरकारले नेपाली भूमिमा सडक बनाएर उद्घाटन गरेको सार्वजनिक गरेलगत्तै नेपाल सरकारले नयाँ नक्शाको प्रकृया सुरु गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !