लुम्बिनी प्रदेशको जनजीवन सामान्य बन्दै : बजारमा चहलपहल बढ्याे
दाङ । जेन–जी आन्दोलनका कारण अस्तव्यस्त बनेको लुम्बिनी प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । रुपन्देही, दाङ र बाँकेमा कर्फ्यू र निषेधाज्ञा खुकुलो भएपछि जनजीवन सहज बनेको हो ।
दाङमा बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म जारी निषेधाज्ञा सकिएपछि प्रमुख बजार क्षेत्र तुलसीपुर, घोराही, लमही र भालुवाङमा चहलपहल बढेको छ । पसल व्यवसाय सञ्चालनमा आएका छन् भने सार्वजनिक यातायात पनि बढ्दै गएको स्थानीयले बताएका छन् ।
बाँकेमा भने प्रशासनले निषेधाज्ञा निरन्तरता दिए पनि नेपाली सेनाले जारी गरेको कर्फ्यू खुकुलो बनाइएपछि अवस्था सहज बनेको छ ।
बिहीबार नेपालगन्जस्थित कारागारमा आगजनी गर्दै कैदीबन्दी भाग्ने असफल प्रयासपछि गोली चलाएर नियन्त्रणमा लिइएको घटनापछि सुरक्षाकर्मी सतर्क बनेका थिए ।
सेनाको गस्ती, माइकिङ र सुरक्षा व्यवस्थाका कारण नेपालगन्ज, कोहलपुर र खजुरा बजार शान्त रहँदा शुक्रबारदेखि पसल र व्यवसाय सुचारु भएका छन् ।
अधिकांश पसल तथा व्यवसाय सञ्चालनमा आइसकेका छन् । लामो बन्दले मजदूरी गरेर दुई छाक टार्ने तथा रिक्सा चालकहरू सबैभन्दा बढी प्रभावित भएका थिए ।
रुपन्देहीमा निषेधाज्ञा कायम रहे पनि आवतजावत सहज बनेको छ र जनजीवन सामान्यतर्फ फर्किएको छ । अन्य जिल्लाहरूमा पनि बजार, यातायात तथा दैनिक जीवनशैली बिस्तारै सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ ।








