देशभर सामान्यतया बदली : केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली भएको महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ ।महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।








