२० मंसिर २०८२, शनिबार

घर जले पनि हाम्रो हौसला जलेको छैन

मुख्यमन्त्री पत्नी दीपाले भावुक हुँदै भनिन्-२८ वर्ष चक घाेटेर कमाएकाे पैँसाले बनाएकाे घर चिनेकै अनुहारले जलाए
प्रकाशित मिति :  15 September, 2025 12:46 pm


अर्घाखाँची । अहिले म खरानीको थुप्रोमा उभिएको छु-त्यो पनि आफ्नै पसिना र मिहिनेतले बनेको घरको खरानीमा । मन भतभती पोलिरहेको छ । आँखा सुन्निएका छन् । भदौ २३ र २४ पछि राम्रोसँग निद्रा पनि परेको छैन । अरूको अगाडि हाँस्न चाहन्छु, “सबै ठीक छ” भनेर देखाउन कोशिस गर्छु तर मनलाई सम्हाल्न सक्दिनँ । यो घरले कस्को के बिगारेको थियो र ? हामीले के गर्यौं र रिस कसरी साध्नुपर्छ ? यस्ता प्रश्नहरू मनमा बारम्बार खेल्छन् ।

घर जलेका तस्विर र भिडियो हेरेँ । आफैले चिनेका विद्यार्थीहरू त्यसैका अनुहारमा देखिन्छन्-चिनेजाने अनुहारले अझै झन् पिरोल्छ । हामीले कस्तो समाज बनाउने चाहना राखेका थियौं र अहिले कस्तो अवस्थामा पुगेको छ भन्ने सोचले पीडा बढ्छ। सामान्य परिवार हौं हामी । २०४८ मा यहाँ जग्गा किन्यौं । त्यतिबेला एउटा पुरानो घर थियो, त्यसलाई बेचेर र खायापुगी २८ वर्ष जागिर गरेर बचत गरेको पैँसा जोडेर हामीले यो घर बनायौं । बैंकको ऋण र सहकारीबाट कर्जा लिएर बास बनायौं । आज यो घर यस्तो भइसकेको छ-हाम्रो रगत पसिनाले बनाएको बास खरानी भएको छ ।

मेरो श्रीमान् चेतनारायण आचार्य राजनीतिक काममा पूर्णकालीन रूपमा लाग्नुहुन्थ्यो । जहिले पनि पार्टीले कठिन ठाउँमा उहाँलाई खटाउँथ्यो । त्यतिबेला प्रदीप ज्ञवाली हुनुहुन्थ्यो र कठिन काममा उहाँलाई विश्वास गर्थेँ । मेरो विवाह २०४७ सालमा भयो । विवाहपछि पनि उहाँ पार्टीको काममा खटिरहनुहुन्थ्याे । समाज परिवर्तनका लागि हामीले अहोरात्र खट्यौं म पनि संगठित भएर २०४७ सालदेखि सक्रिय रहेँ ।

मेरो श्रीमान् क्यान्सरबाट पिडित हुनुभयो, मृत्युको मुखबाट फर्किएर उपचारपछि निको हुनुभयो । जीवनका ताजा भोगाइहरू छन् । हामीले सधैँ समाजका लागि असल काम गरेका छौं । २१ वर्षदेखि राजनीति गरेर समाज सुधारमा ध्यान दिनुभयो । मुख्यमन्त्री भएपछि पनि धेरै सामाजिक काम गर्नुभएको छ । यस सरकारले पूर्व भिआइपी सुविधाहरू कटौती गर्ने काम उहाँले नै शुरु गर्नुभयो । होटलमा कार्यक्रम नगरी सार्वजनिक स्थल वा कार्यालयको हलमा कार्यक्रम गर्ने नियम लागू गर्नुभयो । उहाँले धेरै त्याग र सेवा गर्नुभयो-प्रदेशका लागि उहाँले दिलोज्यानले काम गर्नुभएको छ ।

मुख्यमन्त्री हुँदा हामीले होटलमा एक छाक पनि खाएका छैनौं, नयाँ लुगा किनिएका छैनन् । अहिले पनि मैले आफैं तरकारी लगाएर आयोपार गरिरहेको छु-कसैलाई लगाइएको छैन । दाङमा बाँझो जमिन जोतेर आफूले मिहिनेत गरी तरकारी उत्पादन गरेकी हुँ । हामीले कहिल्यै भ्रष्टाचार गरेको प्रमाणित गर्नुस्, हामी फाँसी चढ्न तयार छौं-प्रमाणित गर्न नसकिने भए पनि आगो लगाउनेहरू तयार हुन सक्छन् कि भन्ने डर हुन्छ । मैले प्रण गरेँ-मुख्यमन्त्री पद रहुकै बेला नयाँ साडी किन्दिनँ । साथीहरूले भनेका थिए, “कार्यक्रममा सधैँ एउटै कपडा भयो, फेर्नू” तर हामीले नयाँ कपडा किन्न्न भनी मान्यतामा बाँड्यौं । म अहिलेसम्म हजारभन्दा बढी मूल्यको साडी लगाएको छैन । हामीले त्याग गर्ने संस्कार छोराछोरीलाई पनि सिकाएका छौं ।

अहिले समाज कता जाँदै छ भनी मलाई दुःख लागेको छ । हामीले कस्तो बच्चा हुर्काइरहेका छौं भन्ने विषय ठूलो चिन्ताको हो । अहिले उक्साउने र विभिन्न स्ट्याटसहरू देखिन्छन्-उफार्नलाई मजा लाग्छ, तर त्यसलाई पछि नियन्त्रण गर्न गाह्रो हुन्छ। हाम्रो समाज आफैंले सुधार्न नभए समृद्धि सम्भव छैन। रगत–पसिनाले बनाएका यी भवनहरू पुनर्निर्माण गर्नैपर्छ। यो घर त केवल बस्टिएको छ, ढलेको होइन; हामी फेरि उठ्नेछौं ।

जेन्जी आन्दोलनको नाममा घुसपैठ र षडयन्त्रकारी गतिविधि भएको हामीले भोग्नुपर्यो । हामी त्यसको सिकार बन्यौं । म दावीका साथ भन्छु, जेन्जीको नाममा भएको कलंक हो । तर धुलो टकटकाउँदै हामी फेरि उठ्नेछौं । जसरी हामीले यी संरचना बनायौं, त्यसैगरी पुनर्निर्माण गर्ने छौं ।

यो आन्दोलनमा शहीद भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

दीपा आचार्य
अर्घाखाँची
३० भदौ, २०८२



प्रतिक्रिया दिनुहोस !