१९ मंसिर २०८२, शुक्रबार

भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

प्रकाशित मिति :  18 September, 2025 7:45 am


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको र अरब सागर तथा बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा परिरहेको जानकारी दिएको छ ।

यसको प्रभाव स्वरूप देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

अहिले कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाको अनुमान छ । यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

साथै, कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति समेत कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !