१९ मंसिर २०८२, शुक्रबार

दसैँ टीकाकाे साइत सार्वजनिक : कुन देशमा कति बजे लगाउने टीका ?

प्रकाशित मिति :  21 September, 2025 5:59 am


काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टीका लगाउने शुभ साइत विभिन्न देशका लागि सार्वजनिक गरेको छ ।

समितिको आज बसेको बैठकले वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको मागअनुसार तिथ्यादि मिलाएर स्थानीय समयअनुसार साइत निर्धारण गरेको हो ।

समितिका सदस्य–सचिव आचार्य लक्ष्मण पन्थीका अनुसार विदेशमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूले दसैँ टीका साइतबारे जिज्ञासा राखेकाले यसपालि विशेष रूपमा अन्तर्राष्ट्रिय स्तरमै साइत घोषणा गरिएको हो ।

नेपालका लागि असोज १६ गते (अक्टोबर २) बिहान ११:५३ बजे टीकाको शुभ साइत रहेको समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईले जानकारी दिए ।

भारतको दिल्लीमा सोही दिन बिहान ११:४९, अमेरिकाको न्यूयोर्कमा अक्टोबर १ का दिन बिहान ११:२५, केन्टुकी राज्यको फ्र्याङ्कर्फटमा ११:५७, वोवेन्स्वोरोमा ११:०५, टेक्सासमा ११:३३, वासिङ्टन डिसीमा ११:३५, क्यालिफोर्नियामा ११:११ र कोलोराडोमा बिहान ११:२९ साइत तय गरिएको छ ।

क्यानडाको टोरेन्टोमा अक्टोबर १ का दिन बिहान ११:५५, भ्यानकुभरमा ११:३३, जापानको टोकियोमा अक्टोबर २ का दिन बिहान ११:३१, अष्ट्रेलियाको सिड्नीमा ११:४३, मेलबर्नमा ११:१९, ब्रीसवेनमा ११:५३, एडिलेडमा ११:३५, क्यानबेरामा ११:५१, तास्मानियामा ११:४५, पर्थमा ११:२५ र डार्विनमा बिहान ११:४७ साइत रहेको छ ।

त्यस्तै, न्यूजिल्यान्डको बेलिङ्गटनमा अक्टोबर २ का दिन बिहान ११:२३, पोर्चुगलको लिस्बनमा बिहान ०९:२३, बेलायतको लण्डनमा बिहान ०९:१७, फ्रान्सको पेरिसमा ०९:५७, नर्वेको ओस्लोमा १०:०३, मलेसियाको क्वालालम्पुरमा ११:११, युएईको अबुधावीमा १०:५५, कतारको दोहामा १०:१३, थाइल्याण्डको बैंककमाः १०:४५, दक्षिण कोरियाको सियोलमा १०:५७, इजरायलको तेल अभिभमा ११:३५, सिङ्गापुरमा ११:०९, हङकङमा ११:४५, साउदी अरेबियामा १०:५५, म्यानमारको याङ्गूनमा १०:२७, स्विट्जरल्याण्डको जेनेभामा १०:२५ र माल्टामा बिहान १०:५५ बजे टीका लगाउने साइत शुभ रहेको समितिका उपाध्यक्ष प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

समितिले यस साइतको प्रकाशनले विदेशमा रहेका नेपाली र हिन्दू धर्मावलम्बीहरूलाई धार्मिक संस्कार पालना गर्न सहज हुने विश्वास व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !