नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिक पुनः सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । सोमबार रातिदेखि खसेको पहिरो पन्छाउने कार्य निरन्तर भइरहेको भरतपुर सडक डिभिजनले जनाएको छ ।
डिभिजनका अनुसार साइटमा तैनाथ उपकरणमार्फत पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि सवारी चालकले सडक किनारमै अव्यवस्थित तरिकाले गाडी रोकेकाले उपकरण र इन्धन पुर्याउन समस्या भएको छ ।
यस्तै, मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ खोलानजिक पनि गएराति ठूलो सुख्खा पहिरो खसेर दुवैतर्फको सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।
मंगलबार बिहान थप ठूलो पहिरो खसेको र अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउने कार्यमा बाधा पुगेको प्रहरीले जानकारी दिएको छ । धादिङ प्रहरीले सम्भावित जोखिमका कारण तत्काल वैकल्पिक सडक प्रयोग गर्न सवारी चालक र यात्रुलाई आग्रह गरेको छ ।








