मुग्लिन–नारायणगढ सडक अवरुद्ध : खैरेनीटार हुँदै डेढगाउँ मार्ग प्रयोग गर्न सकिने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा निरन्तर पहिरो खस्दै आएकाले केही दिनयता सर्वसाधारण यात्रुहरू दैनिकजसो सास्ती भोगिरहेका छन् ।
पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास भए पनि ढुङ्गा खस्ने क्रम नरोकिएकाले राजमार्गमा नियमित यातायात सहज हुन सकेको छैन । दसैँ नजिकिँदै गर्दा बाटो बन्द हुँदा यात्रुहरू थप मारेमा परेका छन् ।
सडक अवरुद्ध हुँदा विकल्पका रूपमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिने भएको छ । गण्डकी प्रदेश सरकारले गौरवको योजनामा राखेको यो सडक मुस्ताङदेखि तराईसम्म जोड्ने उद्देश्यले निर्माण भइरहेको हो ।
साना सवारीसाधनका लागि उपयुक्त मानिने यस मार्गमार्फत दमौली–खैरेनीटारबाट बायाँतर्फ मोडिएर भीमाद–मानपुर हुँदै डेढगाउँ, वुलिङटार, ढोडेनी हुँदै गैँडाकोट पुग्न सकिन्छ ।
स्थानीय प्रकाशचन्द्र भट्टराईका अनुसार मुग्लिनदेखि खैरेनीटारसम्म ७० किलोमिटर दूरी छ भने खैरेनीटार–भीमाद कालोपत्रे सात किलोमिटर र भीमाद–मानपुर करिब ३५ किलोमिटर कच्ची सडक छ ।
मानपुर–डेढगाउँ खण्ड ४० किलोमिटर कालोपत्रे र डेढगाउँदेखि नारायणगढसम्म झण्डै ७० किलोमिटर दूरी रहेको उनले बताए । यस्तै, मोटरसाइकल चालकहरूका लागि थप वैकल्पिक बाटोसमेत प्रयोग भइरहेको छ ।
दमौलीबाट केशवटार, सुखौरा, हुस्लाङ, धरमपानी हुँदै झोलुङ्गे पुल तरेर मुग्लिन–नारायणगढ सडकमा पुग्न सकिने स्थानीय विजय रानाले जानकारी दिए । उनका अनुसार, मुग्लिनतर्फको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही मार्ग रोजिरहेका छन् ।








