१९ मंसिर २०८२, शुक्रबार

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना

प्रकाशित मिति :  25 September, 2025 6:19 am


काठमाडौँ । बडादशैंको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दुर्गामध्येकी चौथो देवीका रूपमा पूजिने कुष्माण्डाको भक्तिपूर्वक आराधना गर्ने परम्परा हरेक वर्ष यस दिन हुँदै आएको छ ।

धार्मिक विश्वासअनुसार आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापलाई “कुष्मा” भनिन्छ । यी तीन तापलाई नष्ट गरी भक्तजनलाई शान्ति दिने भएकै कारण देवीलाई कुष्माण्डा नामले चिनिएको धार्मिक ग्रन्थहरूमा उल्लेख पाइन्छ । देवीले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने वर्णन विभिन्न पुराणहरूमा गरिएको छ ।

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा पनि कुष्माण्डा देवीको स्वरूपबारे व्याख्या गरिएको छ । त्यहाँ उल्लेख छ-“त्रिविध तापयुक्त संसार जसको उदरमा रहेको छ, त्यसलाई सम्हाल्ने शक्ति भएकी भगवती नै कुष्माण्डा हुन् ।”

आजको दिनमा दशैंघर तथा पूजा कोठामा घटस्थापना गरिएको स्थलमा कुष्माण्डा देवीलाई स्मरण गर्दै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका स्तोत्रहरूको पाठ गरिन्छ । भक्तजनहरूले विधिपूर्वक पूजा गरी देवीप्रति आस्था व्यक्त गर्दै परिवार तथा समाजमा शान्ति, समृद्धि र स्वास्थ्यको कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !