नारायणघाट-काठमाडाैँ सडक : बाँदरेमोडको सडक खुल्याे तुइनखोलामा अझै अवरुद्ध
काठमाडौँ । त्रिभुवन राजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिक बाँदरेमोडमा खसेको पहिरो पन्छाइएपछि हिजो बेलुकीदेखि बन्द भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
राति पौने ९ बजे पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । सुरक्षाकर्मी र स्थानीयको निरन्तर प्रयासपछि रातभरको काममार्फत बिहानदेखि सडक सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ । तर अझै पनि पहिरो खस्ने जोखिम कायम रहेको भन्दै यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैबीच, धादिङकै धार्के–सितापाइला सडकखण्ड अन्तर्गत ठूलोखोलामा खसेको पहिरोका कारण सडक अझै अवरुद्ध छ । उता, मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा मंगलबारदेखि बन्द भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन । ठूलो मात्रामा माटो र ढुंगा खसेकाले पन्छाउने काम चुनौतीपूर्ण बनेको चितवन प्रहरीले जनाएको छ ।
सडक लामो समय अवरुद्ध हुँदा यात्रुले ठूलो सास्ती खेप्नु परेको छ । प्रहरीका अनुसार तुइनखोलामा अझै निरन्तर पहिरो खसिरहेको भएकाले सडक खुलाउन समय लाग्नेछ । त्यसैले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
वैकल्पिक मार्गमा साना गाडीले चितवनको जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कन सक्नेछन् । त्यस्तै, धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा हुँदै त्रिभुवन राजपथ वा हेटौंडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली प्रवेश गरेर काठमाडौं पुग्न सकिन्छ । ठूला गाडीका लागि कान्ति लोकपथ प्रयोग गर्न सकिने प्रहरीको सुझाव छ ।
चितवनबाट पोखरा जाने गाडीहरू बुटवल हुँदै जान सक्नेछन् भने साना गाडीले कालीगण्डकी करिडोरमार्ग प्रयोग गरेर गैंडाकोट–भिमाद हुँदै तनहुँ पुग्न सक्नेछन् । तर यी वैकल्पिक मार्ग साँघुरा र कतिपय स्थान कच्ची भएकाले ट्राफिक जाम हुने समस्या देखिएको प्रहरीले जानकारी दिएको छ ।








