माओवादी केन्द्रीय कमिटी भंग गरेर गठन गरिँदै महाधिवेशन मूल आयोजक समिति
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबारदेखि सुरु भएको छ र शुक्रबार पनि निरन्तर भइरहेको छ।
बिहान ११ बजेदेखि बैठक बसेको पार्टीले जनाएको छ। यसअघि बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका थिए।
ती प्रस्तावसँगै नेताद्वयको धारणा पनि छलफलमा आएको थियो र त्यसबारे समूहगत छलफलका लागि बैठक विभाजन गरिएको थियो। पार्टीका १० समूहमा भएको छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत हुँदैछ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार समूहगत छलफलका अधिकांश निष्कर्षहरूले अध्यक्ष प्रचण्डकै प्रस्तावलाई समर्थन गरेका छन्।
उनका अनुसार आजकै बैठकमा केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी गरिएको छ। यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमै अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई भंग गरी आफ्नो संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
यही प्रस्तावलाई अहिले केन्द्रीय बैठकमा आधिकारिक निर्णयको तहमा पुर्याउन तयारी भइरहेको छ। वरिष्ठ नेता श्रेष्ठ र शर्माले भने लामो समयदेखि प्रचण्डको नेतृत्वशैलीप्रति असन्तुष्टि प्रकट गर्दै आएका छन्।
पदाधिकारी बैठकमा पनि उनीहरूले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका थिए। प्रचण्डसँगको असहमति र कार्यशैलीप्रतिको असन्तोष बैठकमा खुलस्त अभिव्यक्त भएको देखिन्छ, तर बहुमतले भने प्रचण्डकै प्रस्तावलाई समर्थन गरेका कारण अन्ततः सो प्रस्तावनै कार्यान्वयनमा आउने देखिएको छ।
आगामी मंसिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने तयारी गरिएको छ। महाधिवेशनले पार्टीभित्रको आन्तरिक असन्तुष्टि, नेतृत्वको वैधता र संगठनात्मक पुनर्गठनका विषयमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
यसअघि पनि पार्टीभित्र विभाजन र असहमति देखिँदै आएको भए पनि अहिलेको बैठकले सबैलाई एउटै साझा बाटोमा ल्याउने वा फेरि नयाँ खालको विवाद जन्माउने भन्ने विषयमा सबको ध्यान केन्द्रीत छ।








