१९ मंसिर २०८२, शुक्रबार

दसैँअघि यात्रुका लागि सडक सहज-सडक विभाग

प्रकाशित मिति :  26 September, 2025 5:25 pm


काठमाडौँ । सडक विभागले यस वर्षको दसैँमा उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुहरूलाई सहज हुने विश्वास व्यक्त गरेको छ । विभागका अनुसार हाल मुलुकका अधिकांश प्रमुख राजमार्गमा पहिरो पन्छाएर सुधारको काम पूरा भइसकेकाले यात्रुहरूले अब लामो जाम र सास्ती भोग्नुपर्ने स्थिति नरहेको छ ।

विभागका प्रवक्ता प्रभातकुमार झाले ठूलो वर्षा नभएसम्म यात्रामा समस्या नआउने बताउँदै भने, “दसैँको सुरुवातसँगै पृथ्वी, अरनिजस्ता मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भए पनि २४ घण्टा नै खटिएर पहिरो पन्छाउने काम गर्‍यौँ । हाल बाटो सहज भइसकेको छ ।”

यसअघि मुग्लिन–नारायणघाट सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरूलाई ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्नुपरेको थियो ।

हाल चार राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छन् भने एक सय ७१ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । तर केही मार्ग भने अझै पूर्ण रूपमा ठप्प छन् ।

जसअनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग अवरुद्ध छ भने रसुवागढीमा यातायात ठप्प छ ।

तातोपानी र टिमुरे (रसुवा) सडक पूर्ण रूपमा अवरुद्ध छ । तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज बगाएर सडक अवरुद्ध छ । रेमिट हाइड्रोले नयाँ पुल निर्माणको पहल गरिरहेको विभागले जनाएको छ ।

कोशी राजमार्ग (रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले–लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का) सङ्खुवासभाको अल्फटेमा सडक अवरुद्ध छ ।

विभागका अनुसार अवरुद्ध सडक खुलाउन एक्साभेटर र लोडर परिचालन गरिएको छ । गत साउनमा आएको बाढी–पहिराले सडक र पुलहरू बगाएपछि समस्या अझै समाधान हुन बाँकी छ । सडक विभागले यात्रुहरूलाई गन्तव्यतर्फ प्रस्थान गर्नु अघि वैकल्पिक मार्गबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !