जेन-जी आन्दोलनका घाइते युवा : अस्पतालको शैय्यामा भविष्यको चिन्ता
काठमाडौँ । भदौ २३ गते नयाँ बानेश्वरको सडक रगताम्य बनेको दिन, अग्रपङ्क्तिमा रहेका बझाङका १८ वर्षीय सुनील थापाले अकस्मात् गोलीको असह्य पीडा बेहोर्नु परेको थियो ।
खल्तीमा रहेको मोबाइल छेड्दै शरीरको कम्मर भाग पार गरेर निस्किएको गोलीले उनलाई केही क्षणमै अचेत तुल्यायो । तत्कालै महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्याइएका थापाको अवस्था अत्यन्तै जटिल थियो ।
चिकित्सक प्रमोद सेढाईंसहितको टिमले तत्कालै शल्यक्रिया सुरु गरेपछि उनको ज्यान जोगियो, तर कम्मरको नसासहित मेरुदण्डमा परेको गहिरो असरले अझै अर्को शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
उच्च शिक्षा अध्ययनका लागि जापान जान तयारी गर्दै गरेका थापालाई अहिले अस्पतालको शय्यामा पल्टिरहँदा शारीरिक घाउसँगै भविष्यको अनिश्चितताले पनि पिरोलेको छ । उनी भन्छन्, “हालको उपचार खर्च सरकारले हेर्छ होला तर फलोअप र भविष्यको उपचार कसरी सम्भव होला भन्ने चिन्ता छ ।”
थापाजस्तै आन्दोलनकै क्रममा गोली लागेका सिन्धुपाल्चोकका २८ वर्षीय रवि भण्डारी पनि अहिले उपचाररत छन् । काठमाडौँमा राइड सेयरिङ गर्दै जीविका चलाउँदै आएका भण्डारीले आन्दोलनमा सहभागिता जनाउँदा शरीरमा गोलीको घाउ मात्र होइन, मुलुकको भविष्यप्रतिको चिन्ता पनि बोकेका छन् ।
उनी भन्छन्, “भ्रष्टाचार र बेथितिले मुलुक बिरामी भएको छ, त्यसको अन्त्यका लागि लड्दा हामी घाइते भयौं । अब देश पनि निको होस् र हाम्रो घाउ पनि छिट्टै निको होस् भन्ने अपेक्षा छ ।” भण्डारीको माग छ–युवाको रगत र बलिदानले मुलुकमा परिवर्तन ल्याउनुपर्छ, शहादत र घाइतेको पीडा खेर जान दिनु हुँदैन ।
मकवानपुर, कुलेखानीका २३ वर्षीय सञ्जय घिसिङलाई आन्दोलनकै क्रममा हातमा गोली लाग्यो । गोली र छर्राले बनाएको घाउमा सङ्क्रमण बढेपछि अहिले उनी थप पीडामा छन् । उपचाररत घिसिङ भन्छन्, “डाक्टरहरूले घाउ निको हुन लामो समय लाग्छ भनेका छन् । पछि पनि निरन्तर फलोअप उपचार चाहिन्छ, तर त्यसका लागि पैसा कहाँबाट ल्याउने भन्ने चिन्ता बढेको छ ।”
युवाको यस्तो पीडा र बलिदानलाई सरकार बेवास्ता गर्न नसक्ने दाबी गर्दै शुक्रबार संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल स्वयं शिक्षण अस्पताल पुगे ।
घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै मन्त्री खरेलले भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवाले बगाएको रगत खेर नजाने प्रतिवद्धता व्यक्त गरे । उनले भने, “तपाईंहरूको स्वास्थ्य अवस्था बुझ्न आएको हुँ, तपाईंहरू छिट्टै निको हुनुहोस् । हामी सबै मिलेर बिरामी मुलुकलाई ठिक पार्नुपर्छ ।”
मन्त्रीले उपचारमा कुनै समस्या नरहेको र घाइतेहरूको स्वास्थ्य सुधार हुँदै गएको जानकारी पनि दिए । भेटघाटका क्रममा घाइतेहरूले सरकारसँग भविष्यमा निरन्तर उपचार खर्चदेखि जीवनयापनका लागि सहयोग माग गरे ।
अभिभावकले पनि यस्ता घटनाले युवाको जीवन मात्र होइन, परिवारको आधारसमेत भत्काउने भएकाले सरकारले दिगो सहयोग गर्नुपर्नेमा जोड दिए । जवाफमा मन्त्री खरेलले आवश्यक सबै प्रकारका सहयोग गर्ने आश्वासन दिए ।
जेनजी आन्दोलनले मुलुकभर हजारौं युवालाई सडकमा उभ्यायो, जसले भ्रष्टाचार र बेथितिविरुद्धको आक्रोशलाई स्वर दिए । तर ती स्वरहरूको प्रत्यक्ष मूल्य युवाको रगत र जीवन हो । कोही अस्पतालको शय्यामा पल्टिएका छन्, कोही शहीद भइसकेका छन् । घाइते युवाहरूको आँखा अझै आशामा टक्किएका छन्—उनको बलिदान खेर नजाओस्, बिरामी मुलुक निको होस् । उनीहरूको पीडा केवल व्यक्तिगत मात्र होइन, यो राष्ट्रकै पीडा बनेको छ ।
युवाको बलिदानलाई कसरी सार्थक बनाउने भन्ने प्रश्न अहिले राज्यसामु चुनौतीका रूपमा खडा भएको छ । घाइतेको घाउ निको पार्ने जिम्मेवारी चिकित्सकसँग छ भने देशको घाउ निको पार्ने जिम्मेवारी राजनीति र नेतृत्वसँग छ ।
अस्पतालको शय्यामा पल्टिएका थापा, भण्डारी र घिसिङले भोगेको पीडा र उच्चारित आशा आजको नेपालकै प्रतिविम्ब हो-जहाँ व्यक्तिगत र राष्ट्रिय घाउ एउटै धागोले गाँसिएका छन् ।








