१९ मंसिर २०८२, शुक्रबार

विधान संशोधनमार्फत् रुपान्तरणको थालनी गर्नुपर्छ-महामन्त्री शर्मा

प्रकाशित मिति :  27 September, 2025 10:31 am


काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र संरचनात्मक रुपान्तरणको आवश्यकता औंल्याएका छन् । बाराको कलैया र पर्साको बीरगञ्जमा शुक्रबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवाको प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टीको विधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले विशेष गरी ३० वर्ष मुनिका युवालाई केन्द्रीय समितिमा अनिवार्यरूपमा स्थान दिनुपर्ने बताए। यसका लागि उनले ‘३० मुनिका ३०’ अवधारणा अघि सारेका छन् ।

“हरेक क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा ३० वर्ष मुनिका निश्चित संख्या तोकौं। उनीहरू मात्र मतदाता र उम्मेदवार हुने गरी ‘३० मुनिका ३०’ अनुसार केन्द्रीय समितिमा निर्वाचित गर्ने व्यवस्था गरौं,” उनले भने।

युवाको सहभागितासँगै विदेशस्थित जनसम्पर्क समितिबाट पनि केन्द्रीय तहमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव गर्दै उनले प्रत्येक महादेशबाट एक–एक जना र मध्यपूर्व क्षेत्रबाट अलग्गै एक सदस्य केन्द्रीय समिति चयन गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखे।

देश, लोकतन्त्र र पार्टी नै खतरामा रहेको भन्दै उनले गुटबन्दीको राजनीतिलाई तत्काल अन्त्य गर्नुपर्ने बताए। “भोलि कसैले सोध्यो भने ‘गुट जोगाउँदै थिएँ’ भन्ने अवस्था आउनु हुँदैन । गुटको उँटबाट ओर्लेर विवेकको सिँढी उक्लिनुस्, रुपान्तरणको सोच ल्याउनुस्, जेनजी आन्दोलनले खोजेको परिवर्तन हामीबाट सुरु गरौं,” शर्माले कार्यकर्तालाई आह्वान गरे।

महामन्त्री शर्मा बारा र पर्सा जिल्लामा हालै भएका तोडफोड र आगजनीका घटनाको अवलोकनका लागि शुक्रबार बिहान रौतहट हुँदै कलैया र बीरगञ्ज पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !