फूलपाती पर्व घर–घरमा उल्लासपूर्वक मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर घर–घरमा शास्त्रीय विधिअनुसार मनाइँदैछ । शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर पूजा आराधना गर्ने परम्परा यस दिन विशेष रूपमा पालना गरिन्छ ।
घटस्थापनाको दिनदेखि वैदिक विधिपूर्वक देवी दुर्गालाई आह्वान गरी गरिएको पूजा आजाको निरन्तरतामा सप्तमीका दिन घरको पूजा कोठा वा दशैँघरमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । यी नववटी वनस्पतिको संयुक्त स्वरूपलाई नवपत्रिका वा फूलपाती भनिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गर्ने वैदिक परम्परा रहिआएको छ । यी देवीलाई नवदुर्गाका पार्षदका रूपमा आराधना गरिन्छ ।
हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट विशेष विधिपूर्वक ल्याइने फूलपाती भित्र्याउने परम्परा अझै निरन्तर छ । गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका पूजाका सहभागीहरूले फूलपाती बोकेर ल्याउने र त्यसपछि जीवनपुरदेखि काठमाडौँको जमलसम्म ब्राह्मण पूजारीहरूले ल्याउने चलन छ ।
जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र विविध सांस्कृतिक झाँकीसहित भव्य लावालस्करसाथ फूलपाती भित्र्याइन्छ ।
राजतन्त्रकालमा यस अवसरमा दरबारमा राजाको उपस्थितिलाई विशेष महत्त्व दिइन्थ्यो । गणतन्त्र स्थापनापछि भने यो परम्परागत समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको उपस्थितिलाई निरन्तरता दिइएको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
यस वर्षको फूलपाती सोमबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम तय गरिएको छ । यस अवसरमा संस्कृति मन्त्रीसहित प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रण गरिएको दरबार हेरचाह अड्डाले जानकारी दिएको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरूको महान् पर्व दशैँको सामाजिक चहलपहल भने फूलपातीको दिनदेखि झन् बढ्ने परम्परा रहिआएको छ ।








