आज देशभर सामान्य वर्षा, कतिपय स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर मनसुनी वायु सक्रिय रहेकाले अधिकांश स्थानमा सामान्य वर्षा हुने अनुमान गरेको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव कायम भएकाले सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराईका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुने महाशाखाले जनाएको छ ।
तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा पर्ने महाशाखाले जनाएको छ ।








