१९ बैशाख २०८१, बुधबार

सैनामैनाको नीति तथा कार्यक्रम : ‘भूमि बैँकमार्फत प्रविधियुक्त कृषि’

प्रकाशित मिति :  20 June, 2020 3:11 pm


अनिल सापकोटा
सैनामैना, ६ असार।

रुपन्देहीको सैनामैना नगरपालिकाले कृषिमा आत्मनिर्भर हुदै उत्पादकत्व वृद्धि गर्न भूमि बैंकको स्थापना गरि सामुहिक खेति र व्यवसायिक खेति गर्न प्रत्साहन गर्ने भएको छ ।

नगरपालिकाले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रममा कृषि र स्वास्थ्य तथा सरसफाईलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाले स्वास्थ्य वीमा सम्बन्धी कार्यक्रम अन्तर्गत २०७७ कार्तिक मसान्तसम्म सवै नगरवासीको स्वास्थ्य वीमा तथा महिला स्वास्थ्य स्वयंम सेविका र ८४ वर्ष उमेर काटेका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य वीमाको व्यवस्था मिलाइने नीति तथा कार्यक्रम समावेश गरेको  छ ।

त्यस्तै कृषितर्फ भूमि बैंकको स्थापना गरी सामुहिक खेती, करार खेती र व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । भूमि बैंक स्थापनापछि करार खेति गर्नको लागि जग्गा लिजमा लिँदा जग्गा वहाल कर मिनाहा गर्ने नीति अवलम्बन गरिएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

‘नगरपालिकाले जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्नको लागि जग्गाधनिले जग्गा बाझो राखेमा बाझो रहेको जग्गा भूमि बैँकले लिजमा दिन सक्ने नीति लिएको छ’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख  कार्कीले भने, ‘कृषियोग्य जमिनमा बस्ति विकास र शहरिकरण लाई निरुत्साहित गरि व्यवसायिक कृषि मार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्ने लक्ष्य रहेको छ।’

नगरपालिकाले शिक्षातर्फ प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई सूचना प्रविधि मैत्री बनाइ पाठयोजना र शैक्षिक सामग्री सहितको शिक्षणलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा समावेश गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर परिक्षण गरी सिकाइ कृयाकलाप अभिवृद्धि गर्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सुचना प्रविधिको व्यवस्था गरिने भएको छ ।

खेलकुदतर्फ सैनामैना नगरपालिका वडा नं. ७ लम्टैयामा प्रारम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको संघीय खेलकुद परिषदको सहयोगमा पूर्वाधार निर्माणको कार्य सुरुवात गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस !