१९ मंसिर २०८२, शुक्रबार

आज एकादशी : टीका–जमरा लगाउने क्रम जारी

प्रकाशित मिति :  3 October, 2025 9:30 am


काठमाडौँ । विजयादशमीको मुख्य दिन सम्पन्न भए पनि दसैँको टीका–जमरा लगाउने परम्परा अझै जारी छ । आज आश्विन शुक्ल एकादशीको दिन समेत नजिक–टाढा रहेका आफन्तलाई भेटेर टीका–जमरा ग्रहण गर्ने क्रम चलेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराईका अनुसार दशमीकै दिन देवी विसर्जनसँगै टीका–जमरा लगाउने परम्परा सुरु भए पनि कतिपय स्थानमा यो कोजाग्रत पूर्णिमासम्म निरन्तर रहने चलन छ ।

उनले भने, “पूर्वी र मध्य नेपालमा पूर्णिमासम्म टीका लगाइने परम्परा छ भने पश्चिम नेपालका कतिपय ठाउँमा दशमीपछिका एक–दुई दिनमै रोक्ने चलन बस्यो। आ–आफ्नै परिवेशअनुसारका यी परम्परालाई अन्यथा लिनु हुँदैन।”

नेपाली समाजमा आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म बडादशैं पर्व भव्यतापूर्वक मनाइन्छ। दशमीमा नजिकका मान्यजनबाट टीका–जमरा ग्रहण गरेकाले पनि टाढा रहेका आफन्तकहाँ पुग्न नसकेका मानिसले कोजाग्रत पूर्णिमासम्म यो परम्परा जारी राख्ने गर्दछन् ।

यसैबीच आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ। धार्मिक विश्वासअनुसार यस दिन व्रत बसे विगतका जानी–नजानी गरिएका पापमा अंकुश लाग्ने मान्यता छ।



प्रतिक्रिया दिनुहोस !