१९ मंसिर २०८२, शुक्रबार

यी ४० जिल्ला बाढीको उच्च जोखिममा : असोज २० सम्म सतर्कता जरुरी

प्रकाशित मिति :  4 October, 2025 12:55 pm


दाङ । बङ्गालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभाव नेपालभर फैलिएको छ । निरन्तर परेको अविरल वर्षाका कारण देशभर ४० भन्दा बढी जिल्ला उच्च जोखिममा परेका छन् । मौसमविद्हरूले असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले वर्षाको दर क्रमशः बढ्दै गएको छ र राति अझै तीव्र हुने सम्भावना छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बाढीको सतह सतर्कताको तह नजिक पुगेको बताइएको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार, “काठमाडौंको हकमा विष्णुमती, बागमती, मनोहरा र नख्खु नदीहरूमा पानीको बहाव सतर्कता तहमा पुग्नै लागेको छ। आज बेलुका र भोलि बिहानसम्म विशेष सतर्कता अपनाउन आवश्यक छ।”

नदी किनारामा चेतावनी

मौसमविद्हरूले डुबानको जोखिम रहेका स्थानमा यात्रा नगर्न, विशेष गरी नदी किनार र बाढी आउने सम्भावना भएका क्षेत्रहरूबाट टाढा रहन अनुरोध गरेका छन्।

उच्च जोखिममा रहेका जिल्ला

विभागका अनुसार बागमती प्रदेशका चितवन, मकवानपुर, सिन्धुलीलगायतका जिल्लामा वर्षा मध्यमदेखि भारीतर्फ उन्मुख छ। मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीमा समेत भारी वर्षा भइरहेको छ।

अति उच्च जोखिममा रहेका जिल्ला:

कोशी प्रदेश : सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा

बागमती प्रदेश : सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन

काेशी प्रदेश : इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ

गण्डकी प्रदेश : रसुवा, नुवाकोट, धादिङ, गोरखा

लुम्बिनी प्रदेश : नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु

मध्यम जोखिममा रहेका जिल्ला:
कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया।

बाढी व्यवस्थापन र चुनौती

नेपालमा हरेक वर्ष बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको छ। अविरल वर्षाले नदी–नाला र खोला–खोल्सामा अचानक बहाव बढाउँदा डुबान र क्षतिको सम्भावना बढ्ने भएकाले जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

विशेष गरी काठमाडौं उपत्यका, तराई र पूर्वी पहाडी जिल्लामा सतर्कता अझ बढी जरुरी देखिएको विभागको भनाइ छ। असोज २० गतेसम्म वर्षाको दर उच्च रहने भएकाले यस अवधिमा उद्धार तथा राहत संयन्त्र पनि तयारी अवस्थामा रहनुपर्ने विभागले चेतावनी दिएको छ।

बङ्गालको खाडीमा विकसित मौसमी प्रणालीले नेपालमा व्यापक असर पुर्‍याइरहेको छ। ४० भन्दा बढी जिल्लामा बाढीको खतरा तीव्र बनेकाले उच्च सतर्कता र सावधानी अपनाउनैपर्ने अवस्था आएको छ।



प्रतिक्रिया दिनुहोस !