१९ मंसिर २०८२, शुक्रबार
माैसम अपडेट

भीषण वर्षा : तराईमा डुबान, उपत्यकामा नदी सतह वृद्धि र पहाडमा पहिरोको उच्च जोखिम

प्रकाशित मिति :  4 October, 2025 4:27 pm


Torrential rain causing flood.

तराईमा डुबान, उपत्यकामा नदीको सतह वृद्धि र पहाडमा पहिरोको जोखिम एकसाथ बढेकोले मुलुक उच्च जोखिममा छ । प्रशासन र सुरक्षानिकाय सतर्क छन् भने मौसमविद्हरूले आगामी घण्टा अझै चुनौतीपूर्ण हुने संकेत दिएका छन् ।

काठमाडाैँ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेसँगै पछिल्लो १२ घण्टामा देशभर भीषण वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा १४४ मिलिमिटर रेकर्ड गरिएको छ। बारामा १४०, रौतहटको गौरमा १२९ र महेशपुरमा १२४ मिलिमिटर पानी परेको छ ।

मौसमविद्हरूका अनुसार २४ घण्टामा १४० मिलिमिटर वर्षा हुनु चेतावनी स्तरमा पर्ने भएकाले तराई क्षेत्रमा डुबान र पहाडमा बाढीपहिरोको जोखिम उच्च भएको छ ।

काठमाडौं उपत्यकामा पनि शुक्रबार रातिदेखि वर्षा जारी छ । उपत्यकाको गोदावरीमा मात्र ८२.४ मिलिमिटर वर्षा भएको छ भने बागमती र विष्णुमती नदीको जलसतह तीव्र गतिमा बढेको छ ।

यसैबीच, कोशी, कमला, त्रिशुलीसहितका प्रमुख नदीहरूमा पानीको बहाव बढ्दा बाढीपहिरोको सम्भावित क्षतिबारे प्रशासनले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । भारी वर्षाका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् भने हवाई उडानसमेत प्रभावित भएका छन् ।

मौसमविद्हरूका अनुसार अत्यधिक वर्षा गराउने प्रणाली वीरगञ्ज–निजगढ हुँदै हेटौँडातर्फ सरेको छ र अहिले नवलपरासीदेखि धनकुटासम्मका जिल्लामा व्यापक वर्षा भइरहेको छ ।

चितवन, गण्डकी प्रदेशका विभिन्न जिल्ला, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ र उदयपुरसहितका जिल्लामा पछिल्ला १२ घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ ।

महाशाखाले आज रातिदेखि भोलि बिहानसम्म अझ धेरै स्थानमा वर्षा तीव्र हुने चेतावनी दिएको छ । सक्रिय प्रणाली अझै बलियो हुँदै गएकोले नागरिकलाई सुरक्षित स्थानमा रहन र अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !