१९ मंसिर २०८२, शुक्रबार

देशभर आंशिक बदली : पश्चिमी वायुको प्रभाव लुम्बिनीदेखि सुदूरपश्चिमसम्म

प्रकाशित मिति :  9 October, 2025 6:54 am


काठमाडौँ । नेपालमा आज पश्चिमी वायुको प्रभाव क्रमशः तीव्र हुँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भूभागमा असर देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय रहँदा गण्डकी प्रदेशको पश्चिमी भागमा पनि त्यसको आंशिक प्रभाव परेको छ । बाँकी भूभागमा भने मनसुनी र स्थानीय वायु कमजोर अवस्थामा छन् ।

विभागका मौसम विज्ञहरूका अनुसार आज दिउँसो देशका पूर्वी तथा मध्य पहाडी क्षेत्र, विशेष गरी कोशी प्रदेशमा आंशिक बदली रहने र अन्य अधिकांश स्थानमा मौसम खुला रहने अनुमान गरिएको छ । पहाडी भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना पनि गरिएको छ ।

आज राति पनि यस्तै मौसमी स्थिति रहने विभागले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने ती भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । बाँकी प्रदेशहरूमा भने मौसम मुख्यतः सफा रहनेछ ।

मौसम पूर्वानुमान शाखाका अनुसार पछिल्ला दिनहरूमा मनसुनी गतिविधि कमजोर बन्दै गएको छ । तर, पश्चिमी वायुका कारण देशको पश्चिमी भूभागमा हावाहुरी र हल्का वर्षाको प्रभाव देखिन सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

विभागले हावाहुरीका कारण साना सवारीसाधन, टहरा तथा हल्का संरचनामा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । साथै किसानहरूलाई पनि असिनासहितको हल्का वर्षाले बालीनालीमा क्षति पुर्‍याउन सक्ने भन्दै सतर्क रहन सुझाव दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !