जेन–जी आन्दोलनबाट २ हजार ३९६ जना घाइते : तीस जनाकाे उपचार जारी
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा घाइते भएका दुई हजारभन्दा बढीको उपचार देशभरका विभिन्न अस्पतालमा जारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्कअनुसार हालसम्म २ हजार ३९६ जना घाइते भएका छन् ।
हाल देशभरका अस्पतालमा तीस जनाकाे उपचार भइरहेकाे भन्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबैभन्दा धेरै ११ जना घाइतेको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालमा पाँच, काठमाडौँ मेडिकल कलेज र बी एन्ड बी हस्पिटल ग्वार्कोमा तीन–तीन, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एक–एक जनाको उपचार भइरहेको छ ।
राजधानीबाहिर विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरमा एक–एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक जना घाइते उपचाररत छन् ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले घाइतेको उपचारमा कुनै कमी हुन नदिने मन्त्रालयको नीति रहेको बताए । उनका अनुसार औषधि, उपचारदेखि शल्यक्रियाका सामग्रीसम्मको खर्च सरकारले नै बेहोरेको छ । “अस्पतालमा कुनै सामग्री अभाव भएमा मात्रै बिरामीले निजी रूपमा व्यवस्था गरेका छन्,” उनले बताए ।
मन्त्रालयले जेन–जी आन्दोलनका घाइतेका लागि देशभरका संघीय अस्पतालमा “जेन–जी क्लिनिक” सञ्चालनमा ल्याएको र ती क्लिनिकमार्फत उपचार निःशुल्क गरिएको पनि सचिव देवकोटाले स्पष्ट पारे ।
यसबीच, अस्पतालमा उपचारकै क्रममा ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालका अनुसार गम्भीर र जटिल घाइतेका लागि पटक–पटक शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ । “केही घाइतेको स्थिति अझै जटिल छ, निरन्तर उपचार भइरहेको छ,” रिजालले बताए ।
जेन–जी आन्दोलनका क्रममा भएका भिडन्त र बल प्रयोगका कारण घाइते भएका धेरै जना अझै पनि उपचाररत छन् भने केहीलाई डिस्चार्ज गरिएको मन्त्रालयको भनाइ छ । सरकारका अनुसार हालसम्म सबै अस्पतालमा आवश्यक औषधि, स्वास्थ्यकर्मी र स्रोतसाधन परिचालन गरिएका छन् ।








