वर्षाको प्रभाव : तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध
दाङ । देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग बाढीपहिरोका कारण पूर्णरुपमा बन्द भएका हुन् ।
कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणखोला र मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएको छ ।
त्यस्तै, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलास्थित तमोर करिडोरसमेत यातायातका लागि बन्द छन् ।
बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित बीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कर्णाली प्रदेशमा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ कुरिल्लास्थित र कालिकोटको पचालझरना गाउँपालिका–८ जुगेनीखोलास्थित कर्णाली करिडोर पूर्णरुपमा बन्द भएका छन् ।
यसैबीच, धनकुटाको साँगुरीगढी गाउँपालिका–१ कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवाखोला र बकैया गाउँपालिका–११ घटटेपाखास्थित कान्ति लोकपथ भने एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।








