जलेका लालपूर्जाको स्रेस्ता कायममा थप सहजता : यसरी हुनेछ स्रेस्ता कायम
दाङ । ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका मालपोत कार्यालयका अभिलेख पुनःस्थापनाका लागि सरकारले विशेष व्यवस्था गरेको छ ।
आन्दोलनपछि लाखौँ नागरिक आफ्नो जग्गा अभिलेख जलेको वा हराएको भन्दै चिन्तित बनेका बेला सरकारको यो कदमले राहतको आशा जगाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अब जग्गाधनी प्रमाणपूर्जा, नागरिकता र स्थानीय अभिलेखका आधारमा स्रेस्ता पुनःकायम गर्न सकिनेछ । जसका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका प्रमुख मालपोत कार्यालयहरूलाई एकसाथ परिपत्र जारी गरेको छ ।
मन्त्रालयका उपसचिव जीवनराज सेढाईंका अनुसार, सक्कल लालपूर्जा प्रणालीमा दर्ता अभिलेखसँग मिलाएपछि प्रणालीबाट नयाँ स्रेस्ता प्रमाणित गर्न सकिनेछ । यदि अभिलेख फरक परेमा ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ (DMS) का डाटा भिडाएर विवरण अद्यावधिक गरिनेछ ।
नापी कार्यालयको फिल्डबुक, प्लट रजिष्टर नक्शा, स्थानीय तहको मालपोत लगत वा कर रसिदसमेत आधार मानिनेछ । अभिलेख नभिडे पनि स्थानीय तहको सिफारिस, स्थलगत सर्जमिन र प्रमाणित प्रतिलिपीमार्फत पुनःकायम प्रक्रिया अगाडि बढाइनेछ ।
सरकारले यसलाई जनताको हक–अधिकारसँग जोडिएको संवेदनशील विषय मानेर प्रक्रियालाई सरलीकृत गरेको हो । अघिल्ला सूचनाका कारण नागरिकमा उत्पन्न भय र अन्योल हटाउन यो कदम चालिएको बताइएको छ ।
विभागका अनुसार हालसम्म दाङ, कास्की, चितवन, काठमाडौं, रुपन्देही, कैलाली, बाँके र मोरङका मालपोत कार्यालयहरूलाई प्राथमिकताका साथ निर्देशन दिइएको छ । ती कार्यालयहरू ‘जेनजी’ आन्दोलनमा सबैभन्दा बढी क्षतिग्रस्त भएका थिए ।
आन्दोलनका क्रममा देशभर ६ वटा मालपोत कार्यालय पूर्ण रूपमा जलेका थिए भने १४ वटा आंशिक रूपमा क्षति पुगेका थिए । यसबीच झण्डै १० लाख लालपूर्जाको ढड्डा नष्ट भएको अनुमान गरिएको छ ।
विभागले रोक्का लगत अद्यावधिक गर्न पनि नयाँ प्रणाली लागू गर्दैछ । रोक्का अभिलेख प्रणालीमा उपलब्ध विवरण र बैङ्क, अदालत वा अन्य निकायबाट प्राप्त रेकर्डसँग तुलना गरी नयाँ रोक्का किताब तयार गरिनेछ ।
सरकारको भनाइमा, “यो प्रक्रिया नागरिकमैत्री बनाइएको छ, ताकि जसको जग्गा अभिलेख नष्ट भयो, उसले सजिलै पुनःस्रेस्ता पाउन सकोस् ।”
विशेषज्ञहरूका अनुसार यो कदम ‘जेनजी’ आन्दोलनपछि उत्पन्न प्रशासनिक र मनोवैज्ञानिक प्रभाव न्युनिकरण गर्ने सकारात्मक प्रयास हो, जसले जग्गाधनीको विश्वास फिर्ता गराउन सहयोग पुर्याउनेछ ।








